स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरमा धमाधम वडा कार्यालय निर्माण र पुनर्निर्माण हुन थालेका हुन् । बुटवलको दीपनगरमा पुननिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको छ । वडा नम्बर ७ को पुनर्निर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले पुनर्निर्माण भएको भवनको उद्घाटन गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे । टोल स्तरबाट छलफल भएर वडा स्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ ।

वडाध्यक्ष कमलप्रताप थापाले नागरिकका लागि सेवक भएर र वडालाई सेवाकेन्द्रका रूपमा विकास गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिए । करिब ३२ लाख रुपैयाँमा सो वडा भवन पुनर्निर्माण भएर सेवा सुरु गरिएको वडा सचिव राजु लामिछानेले बताए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरी बनाइएको हो ।

त्यस्तै, उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब ४८ लाख रुपैयाँमा प्रतिपरिवार चार कोठासहितको ६ वटा आवासगृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष भीमबहादुर श्रेष्ठले बताए ।

सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रूपमा रहेको वडा नम्बर ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुनेछ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । १९ वडा रहेको बुटवल उप–महानगरमा यसअघि वडा नम्बर १० को भवन निर्माण भइसकेको छ भने वडा नम्बर २ को पुनर्निर्माण हुने तयारीमा छ ।

पालिका प्रेस
थप जानकारी