मकवानपुरका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । मकवानपुरको जिल्ला सदरमुकाम हेटौंडा बजार आसपासका गाउँपालिकामा सडक पक्की बनेका छन् । गाउँपालिका पुग्ने र वाक्लो वस्ती भएका गाउँका सडक पक्की भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकै केही वडाका विकट गाउँमा सडक पक्की हुन सकेको छैन । थाहा नगरपालिकाका विकट गाउँमा पनि उस्तै हालत छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका र मनहरी गाउँपालिकाका केही सडक पक्की भएपनि विकट गाउँका सडक निकै कच्ची रहेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका धेरै सडक कच्ची छन् । ओहोर दोहोर गर्नका लागि स्थानीय वासिन्दाहरुले निकै सास्ती खेप्नुपरेको बताउँछन् । मकवानपुरका दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । कच्ची सडकहरुमा पनि ट्याक्टर र अटो त गुढेका छन् तर, निकै जोखिम रहेको मकवानपुरगढी ५ का स्याम बहादुर स्याङतान बताउँछन् ।

मकवानपुरका बिकट गाउँका स्थानीयवासीले सडकको स्तरोन्नतिको माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो छ । सडकको दुरवस्थाका कारण स्थानीयवासी जोखिम मोलेरै यात्रा गरिरहेका छन् । गाउँमा सीमित सवारी साधान चल्ने हुँदा स्थानीय जोखिम मोल्न बाध्य भएको राक्सीराङ र कैलाश गाउँपालिकाका वासिन्दाहरु बताउँछन् । केही वर्ष अगाडि नागरिकको सुविधाको लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला स्थानीय र प्रदेश सरकारको ध्यान नपुगेको कारण समस्या बेहोर्नुपरेको स्थानीय नागरिकहरु बताउँछन् । सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने हुन्छ ।

सडक राम्रो नहुँदा र ढुवानी महगो हुँदा गाउँमा उत्पादन हुने कृषि उपज वस्तु बजार पु¥याउन पनि साह्रै समस्या भएको कैलाशका राम बहादुर लो भन्छन्–‘दुर्गम गाउँ भए पनि धेरै वर्ष अगाडि यहाँ सडक आएको थियो, सडकले हामीलाई धेरै राहत दियो तर अहिलेसम्म स्तरोन्नति हुन नसक्दा धेरै दुःख पनि पाइएको छ, हामीले सरकारलाई धेरै पटक यो सडक बनाउनका लागि माग ग¥यौँ तर अहिलेसम्म सुनुवाइनै भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ, सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महँगो तिर्नुपर्ने अवस्था छ, बाटो सजिलो हुन्थ्यो भने यात्रा गर्न र सामान ढुवानीमा सुविधा हुने थियो ।’

पालिका प्रेस
थप जानकारी