मकवानपुरको राक्सिराङ्ग गाउँपालिका– ४ तर्सिकोटका ३२ विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । विद्युतीकरण नहुँदा स्थानीयबासी वर्षौदेखि अँध्यारोमा बसेको भन्दै गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क सोलार वितरण गरिएको हो । पालिकाले ५५ वाट क्षमताका सोलार वितरण गरेका हुन् ।

सोलार पाएपछि वर्षौदेखिको अँध्यारोबाट मुक्ति पाएको स्थानीयको भनाइ छ । ‘वर्षौदेखि टुकि बत्तिको दियालो बालेर रात गुजारिरहेका थियौं,’ स्थानीय रामलाल घलानले भने,” अब गाउँ नै झिलिमिली हुने भयो ।’ उनका अनुसार वितरण गरिएका सोलारबाट ३ वटा बल्ब बाल्न सकिन्छ । टुकि बत्तीबाट वर्षौपछि मुक्ति पाइएको घलानले बताए । ‘दियालोको लागि टुकि बत्ती प्रयोग गर्दा हामी रोगी बनेका थियौं,’ उनले भने,‘ अब बिजुली नबले पनि सोलारले गाउँ झलमल्ल हुने भयो ।’ उनका अनुसार वर्षौदेखि टुकि बत्तीको दियालो प्रयोग गर्दा गाउँका अधिकांश बासिन्दा दम, खोकी, आँखा दुख्ने लगायत समस्याका बिरामी छन् ।

सोलार किन्ने रकम नहुँदा विपन्न नागरिक लामो समयदेखि परम्परागत ऊर्जाकै भरमा थिए । स्थानीय युवा मलतब घलान र रामलाल घलानको पहलमा विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । सोलार जडान भएपछि गाउँमा रेडियो र टेलिभिजन राख्ने र मोवाइल प्रयोग गर्ने लहरको बिस्तार हुने छ । तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५५ वाट क्षमताको सोलार बाँडिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज हुने छ । अहिलेको समयमा टुकीको सहारामा अध्यारो कटाउनु पर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको अध्यक्ष मल्लले बताए । साथै सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ । अबका दिनदेखि दुर्गम गाउँ तर्सिकोटको घर घरमा सोलार बलेपछि स्थानीयको दैनिकी सहज बन्ने राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । साथै उनका अनुसार सोलारले बालबालिकाको पढाइमा पनि सुधार ल्याउने आशा व्यक्त गरे । ‘बिजुली बत्ती नहुँदा सुनसान हुने गाउँ अब झिलिमिली बन्ने बताए ।’

पालिका प्रेस
थप जानकारी