मकवानपुर सदरमुकाम हेटौंडामा भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा थाहा नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । थाहानगरले ९ स्वर्ण ९ रजत ९ कास्य प्राप्त गर्दै तेस्रो भएको हो । थाहाले पाएको ९ मध्ये ३ स्वर्ण दिना गोपालीले मात्र प्राप्त गर्न सफल भएकी थिइन् । गोपालीले एकसय, दुईसय मिटरको दौड र लङजम्पमा स्वर्ण पदक पाएकी थिइन् ।

१४ माघमा भएको छात्र भलिबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई ३–१ को सेटले पराजित गर्दै थाहा स्वर्ण पदक पाएको थियो । प्रतियोगितामा थाहा नगरपालिकाको पुजन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

यसैबीच राष्ट्रपति रनिङ शिल्डमा हेटौंडा उपमहानगरपालिका प्रथम भएको छ । २० स्वर्ण, १० रजत र २० कास्यसहित हेटौंडा प्रथम भएको हो । बकैयाँ गाउँपालिकाले १२ स्वर्ण १० रजत र ९ कास्य प्राप्त गरी दोस्रो भएको थियो । प्रतियोगिता हेटौंडाको हुप्राचौरमा १३ र १४ माघमा सञ्चालन भएको थियो ।

राष्ट्रपति रनिङ शिल्डमा बागमती गाउँपालिकाले ४ स्वर्ण ८ रजत ८ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण १ रजत ३ कास्य, मनहरी गाउँपालिकाले १ रजत ३ कास्य, इन्द्रसरोवर गाउँपालिकाले १ स्वर्ण २ रजत २ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ९ रजत ३ कास्य जित्न सफल भएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाले जानकारी दिए । मकवानपुरको राक्सिराङ गाउँपालिकाले कुनै पनि पदक प्राप्त गर्न सकेन ।

१३ माघमै भएको छात्रा भलिबल प्रतियोगितामा भीमफेदी गाउँपालिका प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिकालाई ३–२ को सेटले पराजित गर्दै भीमफेदी विजयी भएको हो । प्रतियोगितामा भीमफेदी गाउँपालिकाकी जिया स्याङतान म्यान अफ द म्याच घोषित भइन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पश्चात अब प्रदेशस्तरीय प्रतियोगिता हुने छ । यस प्रतियोगिताको भने मिति तय भैसकेको छैन ।

पालिका प्रेस
थप जानकारी