थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताएका छन् । प्रमुख विष्टले अब नगरका सबै सामुदायिक विद्यालय निजी विद्यालय सरह प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयले गुणस्तरमा ध्यान दिनुको विकल्प नभएको उललेख गरे । मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थाहा नगरपालिका–९ चित्लाङमा रहेको स्वच्छन्दको ६६ औ वार्षिकोत्सव तथा अभिभावक भेला बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै, पुरस्कार वितरण, छात्रबृत्ति वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी मोक्तानले प्रदेश भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारको तर्फबाट सहयोग हुने बताइन् । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त गरिन् ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको अवसरमा स्मारिका प्रकाशन समितिका मुल सल्लाहकार उत्तम उपाध्याय, विद्यालयका आजिवन सल्लाहकार तथा पुर्व विद्यार्थी समेत रहेका नेपाल निर्माण व्यावसायी संघका पुर्व केन्द्रिय अध्यक्ष जयराम लामिछाने कार्यपालिका सदस्य अन्जु श्रेष्ठ, वडाका जनप्रतिनिधिहरु, पुर्व विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालयकोे प्रथम स्मारिका विमोचन गरिएको छ । कार्यक्रममा शिक्षा शाखा थाहानगर तथा विद्यालयको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी