मकवानपुर थाहा नगरपालिकाको विषयगत समिति मध्येको आर्थिक विकास समितिको संयोजक फेरिएका छन् । १८ माघमा भएको थाहा नगरपालिकाको कार्यपालिका बैठकले आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीलाई तोकेको छ ।

यसैबीच नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पनि रायमाझीलाई नै दिइएको छ । रायमाझीलाई यि दुवै पदको जिम्मेवारी १८ माघकै कार्यपालिका बैठकले दिने निर्णय भएको थाहा नगरपालिकाले जनाएको छ । रायमाझी कार्यपालिका अन्तर्गतको वन, वातावरण तथा विपद व्यवस्थापन समितिको पनि संयोजक हुन् ।

यस अघि वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली आर्थिक विकास समितिको संयोजक र प्रवक्ता दुवै जिम्मेवारीमा रहेका थिए ।

कार्यपालिकाले आफूले सम्पादन गरेका कार्य वा निर्णयहरु सार्वजनिक जानकारीमा ल्याउन कुनै कार्यपालिकाका सदस्यलाई प्रवक्ता तोक्नुपर्ने स्थानीय तहको कार्य सम्पादन नियमावली, २०७४ को नियम १७ मा व्यवस्था छ । प्रवक्ताले कार्यपालिकाको तर्फबाट जारी गर्नुपर्ने सार्वजनिक महत्वको सूचना, वक्तव्य, विज्ञप्ति आदि सार्वजनिक गर्नुपर्ने अधिकार क्षेत्र समेत सोही नियममा उल्लेख छ । त्यस्तै सोही नियममा प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारी तोक्ने व्यवस्था छ । सूचना अधिकारीेले कार्यपालिकासंग सम्वन्धित सूचना कानून वमोजिम प्रवाह गर्नुपर्नेछ ।

आर्थिक विकास समितिको संयोजकको काम कर्तव्य अधिकारमा समितिको बैठकको अध्यक्षता गर्ने, समितिको बैठकको मिति, समय र स्थान तोक्ने, बैठकको कार्यसूची तय गर्ने, समितिसँग सम्बन्धित विषयक्षेत्रमा अन्तर विषयगत समिति र अन्तर निकायगत समन्वय गर्ने, सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने, समितिले तोकेका अन्य कार्य गर्ने बिषयगत समिति (कार्यसञ्चालन) कार्यविधिमा उल्लेख गरिएको छ । त्यस्तै समितिका सदस्यहरुले समितिको बैठकमा उपस्थित भइ आफ्नो राय सुझाव र धारणा राख्ने, आफूलाई तोकिएको कार्यजिम्मेवारी निर्वाह गर्ने, समिति वा संयोजकले तोकेका अन्य कार्य गर्नुपर्नेछ ।

आर्थिक विकास क्षेत्र अन्तर्गतको कृषि विकास, पशुपन्छी विकास, सिंचाई, पर्यटन प्रवद्र्धन, सहकारी तथा गरिवी निवारण एबम वित्तीय क्षेत्र, उद्योग, व्यापार तथा व्यवसाय र श्रम तथा रोजगार प्रवद्र्धन पर्दछ । यि शाखा प्रमुख मध्येबाट एक जना समितिको सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था छ । सदस्य सचिवले समितिको सचिव भई काम गर्ने, संयोजकको निर्देशन अनुरूप बैठकको कार्यसूची तथा प्रस्ताव तयार गरी सदस्यहरुलाई पत्राचार गर्ने, विषयक्षेत्रसँग सम्बन्धित विषयहरुमा आवश्यक सूचना तथा तथ्याङ्क संकलनन, विश्लेषण गरी समितिको बैठकमा पेस गर्ने, समितिको समग्र कार्यको प्रभावकारिताका लागि कार्ययोजना तर्जुमा गर्ने र कार्यान्वयनको निमित्त प्रस्ताव तयार गरी समितिमा पेस गर्ने काम गर्नु पर्दछ । त्यसैगरी समितिको कार्यसम्पादन प्रतिवेदन तयार गरी बैठकमा पेस गर्ने, समितिको कामकारबाही तथा बैठकका निर्णयसँग सम्बन्धित विषयको अभिलेख राख्ने, समितिको निर्णय कार्यान्वयन गर्ने गराउने र समिति वा संयोजकले तोकेका अन्य कार्य गर्ने बिषयगत समिति (कार्यसञ्चालन) कार्यविधिमा सदस्य सचिवको काम तोकिएको छ ।

कार्यपालिका अन्तर्गत सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति गरी ५ वटा समिति रहने कानूनी व्यवस्था छ भने नगरसभा अन्तर्गत सार्वजनिक लेखा समिति, विधायन समिति र सुशासन तथा विकास समिति रहनेछन् ।