हेटौँडा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै चार्जिङ स्टेशन स्थापना गरिएको हो ।

एक करोड रुपियाँभन्दा बढीको लगानीमा सञ्चालनमा ल्याइएको सुविधा सम्पन्न दुर्गामाता चार्जिङ स्टेसनको बिहीबार हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले शुभारम्भ गरे । युवा व्यवसायी उपेन्द्र सापकोटा, विप्लप पौडेल र सन्तलाल मिजारको संयुक्त रूपमा लगानी रहेको सो चार्जिङ स्टेसनमा हाल तीन वटा विद्युतीय चार्जिङ उपकरण राखिएको छ । एक पटकमा तीन सवारी साधनमा चार्ज गर्न सकिन्छ ।

चार्जिङ स्टेसनका सञ्चालक सापकोटाले थप दुई वटा चार्जिङ उपकरण जडान गर्ने तयारीमा रहेको जानकारी दिए । स्टेसनमा हाल यात्रुको लागि खाना, गाडीको सरसफाइ, शौचालय लगायतका सेवा हाल व्यवस्था रहेकोमा वर्कसप सञ्चालनमा ल्याउने योजना राखिएको छ ।

उनले पेट्रोल–डिजेलका सवारी साधनले नेपाली पैसा विदेसिरहेको अवस्थामा पेट्रोलियम पदार्थको आयात कम गर्न नेपालमा उत्पादन हुने विद्युत नेपालभित्रै खपत बढाउने योजनामा सहयोग गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताए ।

पालिका प्रेस
थप जानकारी