मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ सलमपुरका बुद्ध राम थिङ ८० वर्ष लागे । बुद्धरामको छ पुस्ताको विहानको समय पाताले खोलाको पानी बोकेरै बित्योे । उनी जस्तै सलमपुर गाउँका १७ परिवारले उस्तै उस्तै दुखान्त व्यहोरे । उनीहरुले २१ वर्ष अघिसम्म गाउँ छेवैको चाँपको फेदमा रहेको कुवाको पानी भगबण्डा गरेरै दैनिकी चलाउँदै आएको बुद्धराम स्मरण गर्छन् । कुवामा जम्मा भएको पानीको भाग नपुगेपछि अन्तराष्ट्रिय गैर सरकारी संस्था प्लान नेपालको सहयोगमा गाउँलले कुवा मर्मत गरे । वर्खामा त कुवाको पानीले धान्यो हिउँदमा उस्तै समस्या, बुद्धराम दुःख सम्झँदै भन्छन्, । प्लानले गाउँलेको समेत श्रमदानमा २० वर्ष अघि घरैपिच्छे आकासे पानी संकलन गर्ने २ हजार लिटर क्षमताको २/२ वटा घैटो बनाइदिएका थिए । घैटोको पानी पनि जहान परिवार बढ्दै जाँदा फारो भएन । फेरि गाउँमा पानीको हाहाकारै भयो अनि, दोहोरियो उही पाताले खोलाको पानी बोक्ने दुःखका बाटो ।

अब सलमपुरबासीको दैनिकी फेरिएको छ । पानीका लागि थाप्लोमा नाम्लो लगाउनु नपर्ने भएको छ । थाहा नगरपालिकासंगको साँझोदारीमा च्वाइस नेपालको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको सक्रियतामा घरै पिच्छे खानेपानीको धारा बनेका छन् । सलमपुरमा पाताले खोलाको पानी लिफ्टिङ गरेर पु¥याइएको छ । २ वटा पम्प प्रयोग गरेर तीन किलोमिटर माथि पानी पु¥याइएको हो । गाउँको सिरानमा १८ हजार लिटरको पानी ट्याङकी रिजभका लागि बनाइएको च्वाइस नेपालका प्राविधिक सुवास म्हठ्ठाले जानकारी दिए । घरैपिच्छे १७ वटा धारा निर्माण भएको छ । यस योजनाका लागि यसका लागि ३६ लाख ४२ हजार लगानी भएको च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए । थाहा नगरपालिकाबाट १५ लाख ४५ हजार, च्वाइस नेपालबाट १३ लाख लगानी भएको योजनामा स्थानीयहरुले ७ लाख ९५ हजार रुपैयाँ बराबरको श्रमदान गरेको घिमिरेले बताए । २ चैतमा सलमपुरमा एक कार्यक्रमको आयोजना गरी थाहानगर प्रमुख विष्णु बहादुर विष्टले आयोजनाको उद्घाटन गरेका छन् ।

        धाराको टुटी घुमाउँदै ७० वर्षिया ठूली थिङ भन्छिन्–‘पानी बोकेरै परिवारको पुस्ता बिते हामीले घरछेवैमा धारो खोलेर यसरी पानी खान पायौं, सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ पहिले घरमा खानेपानी समेत नहुने अवस्था सम्झँदै ठूली भन्छिन्–‘घरमा पालेका वस्तुभाउ त दिउँसो फोइदिने हो पानी खोजेर खाएर आउँथे ।’ अब उनी धेरथोर बाख्रा पाल्ने योजनामा छिन् । घरमै पानी आएपछि कुँडोपानी गर्न सजिलो हुने भएकोले उनले यस्तो योजना सोचेकोे बताउँछिन् । गाउँका ७६ बर्षिय भुजराम थिङ पनि गाउँमै खानेपानी आएपछि खुशी छन् । उनको चेहरा नै उज्यालो छ । चाँपको फेदको कुवाको पानी सम्झँदै ७६ वर्षिया ठूलमायाँ थिङ भन्छिन्–‘अब आनन्द भो, हामीले त दुःख पायौं–पायौं छोरछारीले अब पानीकै लागि दुःख पाउँदैनन् ।’ ३ बिसौनी लगाएर बिहान पानी बोक्ने दुःखको अन्त्य भएको बताउँदै ठूलीमायाँ थप्छिन्–‘अब बिहानको समयमा मेलापर्म गर्नी हो, खेतीपाती लगाउने हो।’

सँधै पानीको हाहाकार हुने भएपछि गाउँमा युवा छँदै छैनन् । उनीहरु एकबाली मकै लगाएर श्रम गर्न काठमाण्डौं वा धादिङको महादेवबेशी पुग्छन् । यहाँका युवा उमेरकाहरु महादेवबेशीमा रोडा कुट्ने काम समेत गर्दै आएका छन् । ‘पानी आयो, बारी छँदैछन्, अब युवाहरु गाउँ फर्कन्छन् भन्ने आश जागेको छ’–७० वर्षिय टिकाराम थिङले भने–‘पानी भएपछि बिउबिजनको ब्याड राख्न र खेती लगाउन सजिलो हुन्छ ।’ धादिङको दामचौरबाट थाक्रे गाउँपालिकाको ५ नम्बर वडाको सडक छिचोल्दै जानुपर्ने सलमपुरमा कच्ची सडक पुगिसकेको छ । थाक्रे गाउँपालिकाले बनाएको सडकमै गाँसेर थाहा नगरपालिकाले सलमपुरमा सडक पु¥याएको हो । सलमपुरको उत्पादन बजारसम्म पु¥याउन सडक जोडिएको बताउँदै थाहानगर प्रमुख विष्णु बहादुर विष्टले सडकको स्तरीकरण गर्दै जाने बताएका छन् । गाउँमा पानीको अनिकाल अब सँधैका लागि टरेको बताउँदै थिङ भन्छन्–‘घैटोमा पानी सकिँदै जााँदा आकाश हेर्नु पथ्र्याे, अब पर्दै पर्दैन ।’

अतित सम्झँदै गणेश प्रावि सलमपुरका प्रधानाध्यापक चन्द्र बहादुर बोगटी भन्छन्–‘बाउ आमा पानी लिन पाताले खोला पुग्थे छोराछोरी भोक्कै स्कूल आउँथे ।’ ‘यो लामो अवधीमा कतिले स्कूल छोडे, छोडे, कतिपय विदेश पुगेका छन्’ बोगटीले भने । थाहा नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षाको सर्वेक्षणमा पनि १६ वर्ष माथिका ६ जनाले स्कूल छोडेको पाइएको बोगटीको भनाइ छ । ३ कक्षासम्म सलमपुरमा पढेका बालबालिका ४ कक्षा पढ्न धादिङको आदर्श मावि पुग्नु पर्छ । उनीहरु ९ वर्षका जति हुन्छन् । घण्टौं हिँडेर बालिबालिका ४ देखि माथिका कक्षा पढ्न विद्यालय जाने गरेको बताउँदै प्रधानाध्यापक बोगटी भन्छन्–‘सलमपुरमा सामान्यतः विहानको खाना खाइँदैन, ८ बजेतिर खाजा खान्छन्, त्यसपछि बालबालिका स्कूल जान्छन्, काम गर्न सक्ने श्रममा जान्छन्, बुढापाका घरैमा ।’ खाजा खाएर स्कूल आएका कतिपय बालबालिकालाई १२ बजेतिर बाबुआमाले भात खान बोलाउँछन्, नत्र स्कूलले पेटभरी दिवा खाजा खुवाउँने गरेको बोगटीले सुनाए ।

थाहानगर प्रमुख विष्णु बहादुर बिष्टले नागरिकहरु खानेपानी आयोजना सम्पन्न गर्न सहयोग गर्ने च्वाइस नेपाल र समुदायप्रति आभार व्यक्त गरे । खानेपानी नागरिकको मौलिक अधिकार भएकोले नगरभित्रका खानेपानी आयोजनाहरुलाई नगर खानेपानी व्यवस्थापन बोड मार्फत एकीकृत रुपमा सेवा प्ु¥याउने विष्टको भनाइ थियो । प्रत्येक वडाबासीका माझ ‘एकघर, एक धारा’ पु¥याउने उनले प्रतिवद्धता व्यक्त गरे । नगरको खानेपानी महशुल दर तोकइसकेको बताउँदै उनले नागरिकलाई दिने सेवामा एकरुपता गर्ने बताए । थाहानगरको धेरै स्थानमा लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत महसुलका कारण उपभोक्ता मारमा परेको प्रमुख विष्टको भनाइ थियो । खानेपानी लगायत हरेक विकास कार्यमा च्वाइस नेपालसंगको सहकार्यमा अघि बढ्ने विष्टको भनाइ थियो ।

थाहा नगरपालिकाका निवर्तमान नगर प्रमुख लवशेर बिष्टले हेर्दा सानो देखिए पनि यो निकै रणनीतिक महत्व बोकेको आयोजना भएको बताए । आयोजना बन्नु पहिले यहाँका महिलाको प्रत्येक बिहान पानी बोक्नमै बित्थ्यो, अब त्यो परिस्थितिको अन्त्य भएको उल्लेख गरे । ‘हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बोक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य गरेका छौं।’ विष्टले भने ।

आयोजना हस्तान्तरण गर्दै च्वाइस नेपालका प्रमुख कार्यकारी निर्देशक प्रतीक शर्माले आफ्नो संस्था र कर्मचारीहरुको सेवा सुबिधाबाट बचाएको पैसाले सलमपुर खानेपानी आयोजना निर्माण गरिएको हुँदा यो योजना अरुको तुलनामा भिन्न रहेको बताए । दुर्गम भेगका जनताको मुहारमा खुशी देख्दा आत्मसन्तुष्टि मिलेको शर्माको भनाइ थियो । उनले भने–सलमपुरका बासिन्दाहरु, विशेष गरी महिला दिदीबहिनीहरुको पुस्तौंपुस्ता देखिको दुःख अब अन्त्य भएको छ ।’ शर्मा थप्छन्–‘यो खुशी हो, जसरी एउटा आमाले बच्चालाई जन्म दिन्छिन् त्यसपछिको अवस्था उही खुशी न हो, त्यसपछि मायाँ गर्छिन् ।’ यहि प्रसंगमा आयोजना सम्पन्न भएकोमा समुदायलाई धन्यवाद दिदै खुशीसंगै योजनालाई मायाँ गर्न आग्रह गरे । फोहोर पानीलाई तेल जसरी फारो गर्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको उनको भनाइ थियो । शर्माले सलमपुरबासीको आयआर्जन बढाउने कार्यक्रमका लागि चासो दिएका छन् ।

थाहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले पालिकाकै दुर्गम क्षेत्रमा खानेपानी आयोजनामा सहयोग गरेर च्वाइस नेपालले ठूलो सहयोग पु¥याएको बताए । आफ्नो बाल्यकाल टिष्टुङ क्षेत्रमै बितेको बताउँदै श्रेष्ठले यहाँको सुख दुःखको आवस्था आफूलाई महशुस हुने उनको भनाइ थियो । थाहानगर शिक्षा समितिको संयोजक समेत रहेका श्रेष्ठले सलमपुरको खानेपानी आयोजनाले महिला र बालबालिकामा प्रत्यक्ष राहत मिलेको बताए ।

थाहा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न खानेपानी उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपाली, वडा नम्बर ११ का अध्यक्ष दिनेश बल, खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम थिङ, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सूचना शाखा प्रमुख सुरज कुमार भुजेल, जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल, वडा सदस्य युवराज जिम्बा, नरेश घलान, तामाङ घेदुङ थाहाका सचीव मंगल तामाङ, विइङ युथका वसन्त कार्की, राजकुमार गोले, बौद्ध मैत्री समाजका हरिश गोले, थाक्रे ५ का पुर्व जनप्रतिनिधि रजनी लामा, थाहा नगरपालिकाका प्राविधिक कविन्द्र वड, च्वाइस नेपाल पालुङ कार्यालयका कुल प्रसाद तिवारी, प्रताप घिमिरे,लगायतका उपस्तिथि रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १२ ले च्वाइस नेपाल र थाहा नगरपालिकालाई प्रशंसा पत्र वितरण गरिएको थियो । वडाध्यक्ष टिकाराम स्याङ्तानले च्वाइस नेपालका प्रमुख कार्यकारी निर्देशक प्रतीक शर्मा र नगर प्रमुख विष्ट बहादुर विष्टलाई प्रशंसा पत्र दिएका हुन् । सलमपुर खानेपानी आयोजना २ चैतबाटै थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । कार्यक्रममै आयोजना बोर्डमा हस्तान्तरण गरेकोमा उपभोक्ता समितिका अध्यक्ष टिकाराम थिङलाई नगर प्रमुख तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष बिष्णु बहादुर विष्टले आवद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा च्वाइस नेपालले गाणेश प्राविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको थियो ।

पालिका प्रेस
थप जानकारी