मकवानपुरको बकैयामा रंगशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ लगाइएको छ । जुरेली रंगशाला निर्माण समिति बकैया–४ ले रंगशाला निर्माणमा सहयोग जुटाएको हो । करिब तीन बिघा क्षेत्रफलमा रहेको यसक्षेत्रमा कभर्ड हल, बास्केटबल, टेबलटेनिस, भलिबल, फुटबल मैदानलगायत खेल खेलाउने गरी रंगशाला निर्माण गर्न लागिएका समितिका अध्यक्ष विमल नेपालले जानकारी दिए ।

बकैया गाउँपालिका भित्रको खेलमैदानमध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रंगशालाका रुपमा विकास गर्न जुरेली खेलमैदानका लागि स्थानीयसँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको उनले बताए । ‘बजेट सुनिश्चितताका लागि हामीले महायज्ञ लगाएका हौं, सबैले सहयोग गर्नुभयो भने राम्रो रंगशाला निर्माण हुनेछ ।’ महायज्ञमा सोमवारसम्म १९ लाख ९६ हजार ५८६ रुपैयाँ संकलन भएको छ ।

महायज्ञको पहिलो दिन ७ लाख ५० हजार, दोस्रो दिन ३ लाख र तेस्रो दिन ७ लाख ७३ हजार रुपैयाँ संकलन भएको समितिका कोषाध्यक्ष प्रल्हाद गौतमले जानकारी दिए । रंगशाला निर्माणका लागि करिब डेढ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको महायज्ञ सञ्चालकको भनाइ छ । महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथावाचन गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी