तीन महिनाअघि नै साँवाबाट मेवाखोलामा एक्स्काभेटर मेसिन तारेर पापुङमा सडकको ट्र्याक खोल्ने काम सुरु भयो । तर वडावासीले यसलाई आफ्नो वडामा सडक पुगेको ठानेनन् । जब गाउँपालिकाले ७० लाख रुपैयाँ विनियोजन गरेर करिब ५ किलोमिटर ट्र्याक खोलेर ताङखुमा गाडी पुग्यो यतिबेला पापुङवासिमा हर्षको सीमा छैन ।
पहिलो पटक गाडी लिएर गएका गाउँपालिका अध्यक्ष रामकुमार साँवालगायत पालिकाको टोलिलाई स्थानीयले भव्य स्वागत गरे । यसले मिक्वाखोला गाउँपालिका ५ पापुङका मात्रै नभएर निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा नै उत्साह ल्याएको छ । किनकि, यो निर्वाचन क्षेत्रका सबै वडामा सडकको पहुँच पुगेको छ । ६१ वटा वडा रहेको जिल्लाको सिरिजंगा गाउँपालिका वडा ६ मा मांखे मात्रै सडक पुग्न बाँकी वडा बनेको छ । भौगोलिक रूपमा डोल्पा र हुम्ला पछिको तेस्रो ठूलो ताप्लेजुङका ६० वटा वडामा सडकको पहुँच पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा चीनको तिब्बतवाट आएको सडकले जोडिएको छ । तर सदरमुकाम फुङलिङसँग भने जोडिन बाँकी छ । जिल्लाका ६० मध्ये सडकको पहुँच नै नभएको एक र सदरमुकाम फुङलिङसँग जोडिन बाँकी एक वडा रहेका छन । आगामी दुई/तीन महिनाभित्रैमा मामांखेमा सडक पुग्ने सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङ बताउँछन् । ‘सिमानामा पुग्नै लागेको छ,’ गुरुङले भने, ‘अवको दुई/तीन महिनामा मामांखेको बस्तीमा बाटो पुग्छ ।’ यो वडामा पुग्नुअघि ठूल्ठूला पहराहरू पार गरेर जानुपर्ने बजेट बढी लाग्ने र काम ढिलो हुँदा समय लागेको उनले बताए ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी ८ वटा वडा रहेको यो मात्रै गाउँपालिका हो । फुङलिङ नगरपालिकाबाहेकका गाउँपालिकामा संघीय संरचनाअघिका गाउँ विकास समितिलाई अहिले एउटा वडा वनाइएको छ । यसअघि मिक्वाखोलाको ५ नम्बर पापुङ र सिरिजंगाको ७ नम्वर मामांखे सडक नै नपुगेका र फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला सदरमुकाम फुङलिङबाट सडकले जोडिन बाँकी वडा थिए । ओलाङचुङगोलामा चिनको तिब्बतबाट सवारीसाधन पटक/पटक आउजाउ गरेका छन । सदरमुकामसँग जोडिन भने अब दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ बताउँछन् ।

मामांखेमा बाटो पुग्ने र ओलाङचुङगोला सदरमुकामसँग जोडिने समय उस्तै–उस्तै हुने स्थानीय जनप्रतिनिधि बताउँछन् । खोला नदीका कारण बर्खामा अवरुद्ध हुने सडक हिउँदमा सञ्चालनमा ल्याउने गरिएको छ । खोलामा पानी घटनासाथ असोज/कात्तिकमा अस्थायी पुल बनाउने र जेठ महिनासम्म चलाउने गरिएको छ । फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मात्रै वर्षमा चारवटा पुल थाप्ने गरेको गाउँपालिका अध्यक्ष सरोज एभेङ बताउँछन् । रेमिट हाइड्र्रोपावर कम्पनिले तापेथोक र लेलेप जोड्ने रानी पुलमा पक्की पुल पनि बनाएको छ ।

पालिका प्रेस
थप जानकारी