बागमती सरकारले हालै गठन गरेको सहकारी तथा गरिवी निवारण मन्त्रालय कृषि थोक बजारको प्रशासनिक भवनमा सारिएको छ । गठन लगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा रहेको पुरानो घरको एउटा कोठामा सीमित रहेको यो मन्त्रालय हाल हेटौंडा–११ स्थित निर्माणाधीन कृषि थोक बजारमा सारिएको हो । यसअघि नै बागमतीका मन्त्रालयका लागि भवन अभाव देखिएकोमा नयाँ मन्त्रालय थपिएपछि समस्या झन् बढेको हो ।
मन्त्रालयका सचिव रुद्र लामिछानेका अनुसार गत मंसिरको अन्तिम सातामात्र कृषि थोक बजारको प्रशासनिक भवनमा मन्त्रालय राख्ने प्रक्रिया अघि बढेको थियो । मन्त्रालयको भवन नहुँदा मन्त्री बाहेकको कार्यकक्ष राख्न समस्या रहेको सचिव लामिछानेले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार गरी कृषि थोक बजारको प्रशासनिक भवन मन्त्रालयका लागि प्रयोग गर्नेगरी मौखिक सहमति लिइएको उनको भनाइ छ । सो लगत्तै कर्मचारीहरूको कार्यकक्ष निर्माणको काम भइरहेको उनले बताए ।
सचिव लामिछानेका अनुसार हाल कर्मचारी व्यवस्थापन र मन्त्रालयको बजेट कार्यक्रम छुट्याउने काम भइरहेको छ । हाल हेटौंडा–४ हुप्रा चौरस्थित सहकारी महाशाखाको कार्यालयबाट मन्त्रालयका कर्मचारीहरूले काम गर्दै आएका छन् ।
गत कात्तिक २७ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालय गठन गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको निर्माणाधीन कृषि थोक बजार हस्तान्तरण हुन बाँकी छ । करिब ९० प्रतिशत भौतिक प्रगति रहेको उक्त भवनमा मेसिनरी औजार जडान तथा विद्युतीकरण लगायतको काम बाँकी नै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
आफूहरूलाई नसोधी राजनीतिक नेतृत्वले मौखिक सहमतिका आधारमा सहकारी मन्त्रालयका लागि भवन प्रयोग गर्ने प्रक्रिया अघि बढाएको कृषि मन्त्रालयका एक कर्मचारीले बताए । हस्तान्तरणविना नै उद्देश्य विपरीत कार्यमा भवन प्रयोग गर्ने विषयमा मन्त्रालयको असहमति रहँदै आए पनि राजनीतिक नेतृत्वको दबाबका कारण चुप बस्नु परेको उनको भनाइ छ । हस्तान्तरणविना नै भवन प्रयोग गरिएपछि भवनमा क्षति पुगे निर्माण कम्पनीले व्यहोर्नुपर्ने हुन्छ ।



















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्