साँकेतिक फोटो

जुम्लाका १ नगरपालिकासहित ८ स्थानीय तहमा जनप्रतिनिधिको बहालीपछि पहिलो वर्षको बजेटसहितको नीति तथा कार्यक्रममा सडकसहितको पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य पहिलो नारा बन्यो । जुम्ला सदरमुकाम खलंगासहित कर्णाली राजमार्गले छोएका केही गाउँठाउँ राष्ट्रिय सडक सञ्जालसँग ०६३ मा जोडिए पनि अधिकांश गाउँबस्ती सडक सञ्जालमा जोडिएका थिएनन् । सडक विकासपछि मात्रै अन्य विकासको ढोका खुल्ने भएकाले स्थानीय तहका जनप्रतिनिधिले पहिलो वर्षदेखि नै सडकसहितको पूर्वाधार विकासलाई प्राथमिकतामा राखे ।

अहिले जुम्लाका ८ वटै स्थानीय तहका मुकाम सडक सञ्जालसँग जोडिएका छन् । केही भूभाग तथा गाउँठाउँमा संघीयतापछिका पहिलो जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा सडक नपुग्ने देखिएको छ । भौगोलिक रूपले विकट गाउँबस्तीमा यातायातको पहुँच पु-याउने उद्देश्यले जनप्रतिनिधिले सडक निर्माणलाई जोड दिँदै आएका हुन् । बितेको चार वर्षमा जुम्लाका ८ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक निर्माण भएका छन् । यद्यपि, सडक निर्माण भएका अधिकांश वडामा अझै यातायातको पहुँच पुग्न बाँकी छ ।

तातोपानी गाउँपालिकाले चार वर्षमा झन्डै ७३ किलोमिटर सडक निर्माण गरेको छ । पालिकाका ८ वटै वडामा सडक सञ्जाल पु-याई यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले करोडौँ रकम खर्चेर चार वर्षमा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण गरेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नम्बर ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नम्बर २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर सडक निर्माण भएको छ ।

भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नम्बर ७ मा ७ दशमलव २८ किमि, वडा नम्बर ८ मा ९ दशमलव ६७ किमि सडक निर्माण भएको छ । यस्तै, वडा नम्बर १ राँका बाइराँकामा ९ दशमलव २१ किमि, वडा नम्बर ३ लिताकोटमा ६ दशमलव ९१ किमि, वडा नम्बर ५ मा ९ दशमलव ५७ किमि र वडा नम्बर ६ मा ७ दशमलव ७ किमि गरी जम्मा ७३ दशमलव ३ किमि सडक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले जानकारी दिए । उनले भने, ‘पालिकाको विकट क्षेत्र भेरीखोला हो । ८ नम्बर वडाको थलाले गाउँबाहेक अन्य गाउँ सडक पहुँचमा पुगेका छन् । चालू आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा बाटो निर्माण गरिनेछ ।’

अहिले गाउँ–गाउँमा सडक पुगेका छन् । कतै फिनिसिङ हुन बाँकी छ भने केही ठाउँमा स्तरवृद्धि गर्ने कार्यक्रम छ । गाउँका कृषि उत्पादनलाई बजारसम्म पु-याउने र स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको तातोपानी गाउँपालिकाले जनाएको छ । नागरिकका घरदैलोसम्म सडक निर्माण गरिए पनि तिला नदीमाथि पुल निर्माण नहुँदा गाउँमा अझै यातायात पहुँच पुग्न केही समय लाग्नेछ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘पालिकाको लगानीमा पक्की पुल निर्माण सम्भव छैन । हामीले आधारभूत विकास गरिरहेका छौँ । पुल निर्माणका लागि संघ र प्रदेश सरकारमा धाइरहेका छाँै । ढिलो–चाँडो गाउँ–गाउँमा गाडी पुग्छन् ।’

सडक निर्माण गरे पनि यातायात पहुँच नहुँदा चाँडो स्तरवृद्धि गरेर छिट्टै गाडी गुडाउन स्थानीयले माग गरेका छन् । सडक पुगे पनि यातायात नचल्दा कृषि उत्पादनले बजार नपाएको स्थानीय लोकबहादुर दमाईको गुनासो छ ।  हिमा गाउँपालिकाले चार वर्षे अवधिमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ । भौगोलिक रूपमा विकट हिमा पालिकाका ७ वटै वडाका साढे ३ दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले धेरै रकम लगानी गरेर ५७ किलोमिटर सडक निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।

उनका अनुसार पालिकाका सबै बस्तीमा सडक पुगे पनि गाडी गुड्न भने बाँकी छ । हिमा पालिकाका प्राविधिक प्रवेश देवकोटाका अनुसार चार वर्षमा निर्माण भएको करिब ५७ किमि सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसिसी भइरहेको छ । पालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा दियार गाउँ हुँदै मोफ्लासम्म १५ किलोमिटर, पाथखोला हुँदै कालीकोट जोड्ने सडक ५ किलोमिटर, भूगोलपाटादेखि बुअगाउँसम्म २ दशमलव ५ किलोमिटर, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किलोमिटर निर्माण भएको छ ।

त्यस्तै, बड्की हुँदै जोगीबाडासम्म १ दशमलव ५ किलोमिटर, बड्की हुँदै ओदीसम्म १२ किलोमिटर, सेरगाउँ पिगीसम्म १ किलोमिटर र कुडु बन्चरीकाँडा–च्यामेले खर्कसम्म ३ किलोमिटर गरी जम्मा करिब ५७ किमि ग्रामीण सडक निर्माण भएको छ । सेरगाउँ–पिगीसम्म थप ३ दशमलव ८ किलोमिटर र जोगीबाडा–च्याल्से हुँदै च्यामा जोड्ने ५ किलोमिटर सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको प्राविधिक देवकोटाले जानकारी दिए । ओदी गाउँदेखि नेत्रज्योति माविसम्मको ४ सय ८० मिटर बाटो आरसिसी भएको छ । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गरिँदै आएको बताए । उनले भने, ‘पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर कार्यकाल अवधिभर गाउँमा गाडी पु-याउने लक्ष्य राखेका छौँ ।’

सडकबिना गाउँका कृषि उत्पादनले बजार नपाउने, स्थानीयको जीविकोपार्जनमा सुधार नआउने भएकाले सडक विकासमा जोड दिइएको उनले बताए । उनले भने, ‘अब गाउँमा पुगेका सडकलाई आर्थिक समृद्धिसँग जोड्न थप लगानी गर्न पालिका तयार छ ।’ तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन् । यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन ।

तिला गाउँपालिका वडा नम्बर १ रारालिहीस्थित तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हो । वडा नम्बर ९ मालापानी गाउँका स्थानीय मानबहादुर बुढाले भने, ‘स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ ।’ अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चर र मानिसको पिठ्युँ हुन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चर र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ । गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन् । सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन् ।

यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पु-याएको हो । झन्डै ५ करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ । यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी छ । २ वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सडक पुग्नु ठूलो उपलब्धि ठानेका छौँ । दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ । यो पालिकाको उपलब्धि हो ।’ गाउँमा सडक पुगिसकेकाले केही समयपछि तिला नदीमा पुले निर्माण हुने उनले बताइन् ।

पालिका प्रेस
थप जानकारी