बाढीबाट क्षति भएको हेटौंडा– कुलेखानी–सिस्नेरी–दक्षिणकाली– काठमाडौं सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । कुलेखानी–सिस्नेरी खण्डको १२ सय मिटर सडक पुनर्निर्माणका लागि बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौंडाले ठेक्का आह्वान गरेको हो । ईन्द्रसरोवर–३ एकान्तकुना लामाबगरमा ७०० मिटर र ईन्द्रसरोवर–२ डोडारेमा ५०० मिटर सडक पुनर्निर्माण गर्न आयोजनाले साढे ८ करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले वर्षायाम अगाडि नै काम गर्ने गरी ठेक्का आह्वान गरेको बताएको छ । हेवी– ज्यामिरे खण्ड अन्तर्गत ७०० मिटर र सिस्नेरी बजार खण्डमा ५०० मिटर सडक निर्माणका लागि ठेक्का खोली प्रक्रियामा रहेको आयोजनाका सूचना अधिकारी राजन गौतमले जानकारी दिए । सिस्नेरी खण्डको ५०० मिटर सडकका लागि ठेक्का बिड गरी निर्माण कम्पनी छनोट प्रक्रिया सम्पन्न भई सम्झौताका चरणमा रहेको उनले बताए । ५०० मिटर सडक निर्माणका लागि स्थानीय वइसिस पशुपत्रा जेभीले ९७ लाख रुपैयाँ बोलकबोल गरी आशयको सूचना प्रकाशन भइसकेको उनले बताए ।

निर्माण व्यवसायीले १ करोड ५७ लाख रुपैयाँ लागत निर्धारण गरि एको ठेक्कामा ४६ प्रतिशत कम विड गरेर कबोल गरेको उनको बताए । गत बुधबार आशयको सूचना जारी भएको र आगामी साता सम्झौता गरी काम थालिने उनले बताए । त्यस्तै हेवी–ज्यामिरे खण्डको सडक पुनः निर्माणका लागि ८ करोड रुपैयाँ लागत मूल्य निर्धारण गरी ठेक्का आह्वान गरेको सूचना अधिकारी गौतमले बताए ।

पालिका प्रेस
थप जानकारी