सीतापाइला–धार्के सडकको सबै खण्ड कालोपत्रे हुने भएको छ । यो सडकको ठेक्का लाग्न बाँकी खण्डका लागि सडक विभागले ५५ करोडको स्रोत सुनिश्चित गरेको छ ।

योजनाअनुसार काम भए काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्ने साना सवारीलाई यो सडकले विकल्प दिने छ । विभागले यसअघि नै सितपाइला र धार्के दुवैतर्फबाट ठेक्का लगाएर विस्तारको काम सुरु गरिरकेको छ । तर, बीचको करिब १० किलोमिटर खण्डको ठेक्का लाग्न सकेको थिएन ।

सडक विभागका प्रवक्ता शिव नेपालका अनुसार अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरेको सुनिएको तर पत्र प्राप्त नभइसकेको बताए । स्रोत सुनिश्चित भएर काम अघि बढाएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने साना सवारीलाई सहज विकल्प तयार हुने उनको भनाइ छ ।

यो सडक सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ । अहिले धार्केबाट कलंकी पुग्न २५ किलोमिटरकै दूरी छ । दुई लेनको हुन लागेको धार्के–सीतापाइला सडक पनि कुल २४ किलोमिटरको छ । यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुंगासम्म हुने सवारीको जाम कम हुने अपेक्षा छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको हो । झण्डै १५ करोड खर्चिएर डीपीआर तयार गरिएको थियो ।

सडकलाई स्तरीय बनाउन झण्डै साढे २ अर्ब खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ । यो सडकको ट्र्याक पुरानो नै हो । यो सडकलाई दुई लेनमा विस्तार गरेर सवारी आवत–जावत सहज गराउने योजना अनुसार काम हुन लागेको छ । सडकका विभिन्न खण्डमा फराकिलो बनाउने तथा कल्भर्ट र पर्खालसहित आवश्यक पूर्वाधारहरु तयार गरिँदैछ । कतिपय खण्ड कालोपत्रे भइसकेको छ ।

यो सडक दुई लिनेको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौं आउन दुईवटा विकल्प तयार हुनेछ । नागढुंगामा सानो समस्या आएपनि घण्टौं रोकिनुपर्ने बाध्यता सडक फराकिलो भएपछि हट्ने अपेक्षा छ । मुआब्जा विवादका कारण कुनै–कुनै ठाउँमा सडक विस्तार गर्न नसकिएकाले मालबहाक र ठूला यात्रबहाक सवारीका लागि भने सडक खासै उपयुक्त नहुने विभागको भनाइ छ । अहिले नागढुंगाको उकालोमा एउटा सवारी बिग्रिएपनि एकोहोरो सवारी चल्दा लामो जाम खेप्नुपर्ने बाध्यता यात्रु र सवारीलाई छ । अहिले पनि फाट्टफुट्ट रुपमा यो सडकबाट सवारीहरु आउने–जाने गरेका छन् ।

यो सडकलाई फराकिलो बनाउन सडक विभागले आफ्ना दुई सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ । धार्केबाट १४ किलोमिटरसम्मको सडक चितवन डिभिजनले निर्माणको काम गर्दैछ ।काठमाडौंको सिमाना रामकोटसम्मको काम यही डिभिजनले गर्नेछ । त्यसभन्दा यता काठमाडौंंकै डिभिजनले काम गरिरहेको छ ।

चितवन डिभिजनलाई सरकारले १४ किलोमिटर खण्ड विस्तारका लागि झण्डै २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो ।

पालिका प्रेस
थप जानकारी