त्रिभुवन राजपथको नयाँगाउँ क्षेत्र । फाइल फोटो: गणेश विष्ट/पालिका प्रेस

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सधैँ राजधानीको ‘लाइफलाइन’ हेटौंडा–काठमाण्डौं जोड्ने त्रिभुवन राजपथ बन्ने गरेको छ । कृष्णभिरमा ठुलो पहिरो गएपछि अहिले पनि सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने सवारीसाधन अवरुद्ध भएको छ । यसको भरपर्दो त्रिभुवन राजपथ (बाइरोड) नै बनेको छ ।

७० वर्षअघि निर्मित यो सडक सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढीपहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन । हेटौंडा–काठमाण्डौं जोड्ने यो राजपथ राजधानी काठमाडौँलाई तराई र छिमेकी देश भारतसँग जोड्ने मुलुककै पहिलो राजमार्ग पनि हो तर सङ्कटका बेला सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन, विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन । सामान्य अवस्थामा यस राजपथमा सवारी चाप कम हुन्छ तर राजधानी जोड्ने अन्य राजमार्ग अवरुद्ध हुनासाथ सम्पूर्ण भार यसैमा थपिने गर्छ । त्यसैले यो राजपथ विगत लामो समयदेखि ‘सङ्कटको सारथि’ बन्दै आएको छ ।

जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढीपहिरोका कारण अवरुद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायीको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ । राज्यले यसलाई केवल ‘अस्थायी विकल्प’ का रूपमा मात्र हेर्ने गरेको देखिन्छ । सात दशकअघि निर्माण भएको यस राजपथलाई चौडा गर्ने र यसका घुम्ती सुधार्नेलगायतका स्तरोन्नतिको काम अहिलेसम्म हुन सकेको छैन । सबै मौसम (अल वेदर) मा सञ्चालन हुने यो राजपथको निर्माण २०१३ सालमा सम्पन्न भएको थियो । अहिले यही राजपथको प्रयोग गरी काठमाडौँमा इन्धन तथा खाद्यान्न आपूर्ति सहज बनाउने प्रयास गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पमा समेत काठमाडौँमा खाद्यान्न, औषधी र इन्धन आपूर्ति गर्ने एक मात्र सुरक्षित विकल्प यही राजपथ बनेको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर अर्जुनजङ्ग थापाले काठमाडौँ जोड्ने अन्य राजमार्ग र सडक अवरुद्ध भएका बेला सधैँ साथ दिँदै आएको त्रिभुवन राजपथ अन्य राजमार्गको तुलनामा राज्यको नीति तथा कार्यक्रम, बजेट विनियोजन तथा विकास प्राथमिकतामा सधैँ पछि पर्दै आएको बताउनुभयो । मुलुकको अन्य भूभागलाई काठमाडौँसँग जोड्ने पहिलो यो राजपथ अरू राजमार्गको तुलनामा अहिले पनि भरपर्दो रहेको तथा कम बिग्रिने, कम पहिरो जाने, २०७२ सालको महाभूकम्पले समेत असर नगरेको बताउँदै उहाँले निर्माण सम्पन्न भएको सात दशकमा पनि यस राजपथको अहिलेसम्म विस्तार, स्तरोन्नति तथा यसका साँघुरा घुम्तीको सुधार हुन नसकेको स्विकार्नुभयो ।

त्रिभुवन राजपथकै विकल्पमा निर्माण सुरु गरिएको काठमाडौँ÷तराई–मधेश द्रुतमार्गको निर्माण समयमा सम्पन्न नहुनु, कान्ति लोकपथ भरपर्दो नहुनु, कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी, चित्लाङलगायतका सडक पनि बर्सैभरि सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा हरेक मौसममा निर्विकल्प गाडी कुदाउन मिल्ने यो राजपथको सुधार र मर्मतसम्भार आवश्यक रहेको आयोगका सदस्य थापाको भनाइ छ ।

नारायणगढ–मुग्लिङ र पृथ्वी राजमार्गको विकल्पका रूपमा अन्य छोटो दुरीका सडकलाई बढी प्राथमिकता दिँदा त्रिभुवन राजपथको चौडा गर्ने र घुम्ती सुधार्ने कार्य ओझेलमा परेको बताउँदै उहाँले अत्यधिक घुम्ती र साँघुरो सडक भएकाले यस मार्गमा ठुला मालवाहक गाडी र ट्रेलरहरू चलाउन जोखिमपूर्ण हुने भएकाले समेत यथाशक्य यसको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सामान्य अवस्थामा यस राजपथमा सवारी चाप न्यून हुने तर पृथ्वी राजमार्ग बन्द हुनासाथ सम्पूर्ण भार यसैमा थपिँदा यसको क्षमताले धान्न गाह्रो हुने गरेको उहाँको भनाइ छ ।

दामन र पालुङ जस्ता पर्यटकीय क्षेत्र समेटेको यो राजपथ पर्यटकीय र कृषि सामान ओसारपसारका लागि निकै उपयुक्त रहेको बताउँदै उहाँले भन्नुभयो, “त्रिभुवन राजपथलाई केवल ‘सङ्कटको सारथि’ मात्र नबनाई यसलाई पृथ्वी राजमार्गको स्थायी र सुरक्षित वैकल्पिक मार्गका रूपमा बजेट छुट्याएर सुरक्षित र भरपर्दो हुने गरी स्तरोन्नति गर्नु आजको आवश्यकता हो ।” यो राजपथ काठमाडौँको त्रिपुरेश्वरदेखि कलङ्की, नागढुङ्गा हुँदै नौबिसे, टिस्टुङ, पालुङ, दामन, हेटौँडा, पथलैया र परवानीपुर हुँदै वीरगन्जस्थित नेपाल–भारत सीमामा अवस्थित मैत्री पुलसम्म पर्दछ । यस राजपथकोे कुल लम्बाइ १५९.६६ किलोमिटर छ ।

विसं २०१० मङ्सिर २६ गते तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीबाट थानकोटमा यसको उद्घाटन भई सुरुमा जिप मात्र चल्न सक्ने कच्ची सडक तयार भएको थियो । भारतीय सहयोगमा यो राजपथ २०१३ सालमा पूर्ण रूपमा सम्पन्न भई मालवाहक ट्रक तथा गाडीहरू गुड्न योग्य ‘अल–वेदर रोड’ बनेको थियो ।

पालिका प्रेस
थप जानकारी