भीमदत्तलाई बाह्रसिंगा नगरका रूपमा चिनाउन नगरपालिकाले अभियान सञ्चालन गरेको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिंगालाई चिनाउन नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाले बाह्रसिंगालाई ब्रान्ड बनाउने घोषणा गरेको छ ।‘बाह्रसिंगालाई नगरको ब्रान्डका रूपमा घोषणा गरेका छौँ’, नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘बाह्रसिंगाको प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्छौं । बाह्रसिंगाको लोगो तथा पोस्टर कार्यालय, चोक–चोकमा राखेर प्रचारलाई व्यापक बनाउँछौँ ।’नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिंगाको लोगो राखिने उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिंगा रहेका छन् । बाह्रसिंगामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ ।
नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचूर सम्भावनाको धनी रहेकाले त्यसको प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । आव ०७८/७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिंगाको नगरका रूपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिंगालाई ब्रान्डका रूपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिंगा नगर घोषणा गर्ने काम सराहनीय रहेको बताए । यसले निकुञ्जको पर्या–पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र बाह्रसिंगाको प्रचार–प्रसारमा सघाउ पुग्ने उनको विश्वास छ ।
ठूलो झुन्डमा निकुञ्जका फाँटमा चर्दै गरेका बाह्रसिंगा एकसाथ हेर्न सकिन्छ । बाह्रसिंगा हेर्नकै लागि टाढाटाढाबाट पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् । निकुञ्ज बाह्रसिंगाका लागि दक्षिण एसियामै प्रसिद्ध छ । निकुञ्जमा सन् २०१२ मा गरिएको गणनामा बाह्रसिंगाको संख्या २ हजार १७० थियो ।
सुरक्षित बासस्थान र चरनको पर्याप्त क्षेत्र भएकाले यो संख्या बढेको अनुमान छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ०२६ मा सिकार आरक्षका रूपमा स्थापना भई ०३२ मा १५५ वर्गकिमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षका रूपमा घोषणा गरिएको हो ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्