लुम्बिनी प्रदेशको अर्घाखाँचीको मालारानी गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको छ । प्रशासनिक भवनको लुम्बिनी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । अर्घाखाँचीका प्रदेशसभा सभासद्समेत रहेका आचार्यले प्रशासनिक भवन निर्माणपछि पालिकाबासीलाई प्रवाह गर्ने सेवा–सुविधा सहज हुने विश्वास व्यक्त गरे ।

उनले मालारानीले विकास निर्माणमा उल्लेखनीय प्रगति गरेको बताउँदै तोकिएकै समयमा सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएकामा खुसी व्यक्त गरे । सिंहदरबारको अधिकारलाई गाउँतहसम्म ल्याएको अनुभूति दिलाएर काम गर्न उनले जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिए । आचार्यले आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि, विभिन्न विकासका निर्माणका लागि बजेट भित्र्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । खनदह बजार नजिकै निर्माण भएको प्रशासकीय भवन ३ करोड २८ लाख २ हजार ९ सय ५७ रुपैयाँ लागतमा बनेको हो । भवन निर्माणको जिम्मा जयमाता इन्जिनियरिङ कन्स्ट्रक्सन र खाँची निर्माण सेवा काठमाडांैले लिएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि सांसद आचार्यले गाउँपालिकाले निर्माण गर्न लागेको भागिरथी स्मृति प्रतिष्ठान केन्द्रको शिलान्यास र जडीबुटी संकलन केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका थिए । गाउँपालिकाका योजना अधिकृत नेत्रप्रसाद खनालले प्रशासकीय भवन निर्माणबारे जानकारी गराए । कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत मन्तव्य र प्राविधिक हरिशचन्द्र पाण्डेले सञ्चालन गरेका थिए ।