आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेकी छिन् । महोत्तरीको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारकी फुली साह सुँडीले सो मूल्यको जग्गा दान गरेकी हुन् ।

उनले ४ पुसमा मालपोत कार्यालय बर्दिबासमा पुगेर नगरपालिकाका नाउँमा हाल भङ्गाहा–५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा रजिष्ट्रेसन गरी दिएकी हुन् । आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सारेका थिए । अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए।

ुअब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छु, उनले भने। नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिए । जग्गादाता नगरप्रमुख साहकी आमा हुन् ।