चितवनको खैरहनी नगरपालिकाले निर्माण गरेको सामाजिक तथा स्वास्थ्य भवनको उद्घाटन गरिएको छ ।

नगरपालिका आफैले निर्माण गरेको ४ वटा भवनको सोमवार एकै दिन उद्घाटन गरिएको हो । खैरहनी वडा नम्वर ५मा जेष्ठ नागरीक विश्राम भवन,खैरहनी ६ मा महिला पूर्नस्थापना केन्द्र,खैरहनी ३ र ९ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको थियो । ति चार वटै भवनको नगर प्रमुख लालमणि चौधरी र उपप्रमुख सुनिता थपलियाले सयुक्त रुपमा उद्घाटन गरे । वडा नम्वर ५ को दुर्गामन्दिर परिसरमा निर्माण गरिएको विश्राम स्थल भवनमा नगरपालिकाले ४३ लाख ५५ हजार र स्थानीय लागत साझेदारीबाट ६ लाख ४५ हजार गरि कुल ५० लाख रुपैयाँ खर्च लागेको छ ।

वडा नम्वर ६ मा निर्माण गरिएको महिला पूर्नस्थापना केन्द्रमा नगरपालिकाले ४९ लाख ३ हजार रुपैयाँ खर्च लागेको छ । सो भवन रहेको जग्गा नगरपालिकाले संरक्षण गरेको जग्गा हो । त्यस्तै वडा नम्वर ३ र ९ मा आधारभूत स्वास्थ्य केन्द्र भवन पनि नगरपालिका आफैले निर्माण गरेको हो । वडा नम्वर ३ को भवनका लागि ४ लाख ४ हजार रुपैयाँ र वडा नम्वर ९ को भवनका लागि ४४ लाख ४९ हजार रुपैयाँ खर्च भएको योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।
भवनहरुको उद्घाटन गर्दै नगर प्रमुख लालमणि चौधरीले नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बताए । ति संस्थाहरु व्यवस्थापन र संचालनमा स्थानीय वढि जिम्मेवारी वन्नुपर्ने नगर प्रमुख चौधरीले बताए ।