मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ का पूर्ण अशक्त अपाङ्गता भएका अमिर भोम्जनले थाहा नगरपालिकाबाट सहयोग पाएका छन् । उद्यमी तथा अपाङ्गता भएकाहरुका लागि प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत भोम्जनले १८ असारमा सामाग्री सहयोग पाएका हुन् । मुखैले चित्र कोर्ने कला भएका भोम्जनालाई पेन्टिङ सामाग्री सहयोग पाएका हुन् । उनले नगरपालिकाले गरेको सहयोगगप्रति खुशी व्यक्त गरे । उनले भने–‘नगरपालिकाले अपाङ्गता भएका व्यक्तीहरुको लागि व्यवसायिक प्रविधी हस्तान्तरण कार्यक्रममा मलाई पनि पेन्टिङको सामाग्री दिनु भएकोमा धेरै खुशी लागेको छ, अझै थप केही गर्नलाई उत्साह जागेको छ । आगामी दिनमा पनि यसैगरी अपाङ्गता भएका व्यक्तीहरुलाई साथ सहयोग र राम्रो वातावरणको सृजना गर्दै जानू होला भन्दै धेरै धेरै धन्यवाद ।’

भोम्जन सहित अपाङ्गता भएका ७ जनालाई नगरपालिकाले सहयोग गरेको थाहा नगरपालिकाकी महिला, बालबालिका तथा अपाङ्गता परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । त्यस्तै वडा कार्यालयको सिफारिसमा विपन्न परिवारलाई पनि प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत सामाग्री सहयोग गरिएको मोक्तानले बताइन् ।

थाहा नगरपालिका सामाजिक विकास विकास समिति संयोजक दिनेश बलको विशेष उपस्थितीमा भएको सामाग्री वितरण कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला, बालबालिका तथा अपाङ्ग परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तान, थाहानगर अपाङ्ग सरोकार समिति अध्यक्ष मनलाल गोपालीलगायतकाको सहभागिता रहेको थियो ।

कला नै सहाराः अमिर

‘भाइ, बहिनी खेलेको देख्दा म आफैं पनि त्यहाँ खेलिरहेको अनुभूति हुन्थ्यो । मेरो मन, मस्तिष्क त्यहाँ पुगेको जस्तो लाग्थ्यो । दिनभरिको प्यास मेटाउन आफ्नै थुक निलेर प्यास मेटाएको मान्छे हुँ म ।’

करुणा फाउन्डेसनले काठमाण्डौमा शारीरिक तथा मानसिक रूपमा अशक्त भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा रहेर तयार गरिएको वृत्तचित्र सार्वजनिक कार्यक्रममा २२ वर्षीय अमिर बोम्जनले आफ्नो जीवन, संघर्ष र सफलताका कथा सुनाए । वृत्तचित्रमा उनै बोम्जन र उनकी श्रीमती पुष्पालाई देख्न सकिन्छ । वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनका चित्रकला प्रदर्शन गरिएको थियो ।

मकवानपुर थाहा नगरपालिकास्थित खानी गाउँका बोम्जन जन्मजात शारीरिक रूपमा अशक्त छन् । हातखुट्टा नचल्ने उनी चित्रकार तथा गायक पनि हुन् । उनी मुखैले चित्र कोर्छन् र कुची च्यापेर क्यानभासमा रङ भर्छन् । ‘कला मनोरञ्जन मात्र होइन, मान्छेको मनसँग जोडिने रहेछ,’ उनले भने, ‘कलाकारिता नै मेरा लागि सबैथोक भएको छ । यसैमा सुख, दुःख सबै पोख्छु ।’ आफूले बनाएका चित्रको मूल्य उनले १० हजारदेखि १ लाख रुपैयाँसम्म राखेका छन् ।

२०७२ को भूकम्पछि भने उनको जीवनमा खुसी भित्रियो । शारीरिक तथा मानसिक रूपमा अशक्त भएका व्यक्तिहरूको क्षेत्रमा काम गरिरहेको करुणा फाउन्डेसन र बोम्जनबीच सम्पर्क भयो । फाउन्डेसनले उनलाई काठमाडौं ल्याएर चित्र तथा संगीत प्रशिक्षणको वातावरण बनाइदियो । उनले चित्रकार किरण मानन्धर र संगीत सर्जक न्हु बज्राचार्यसँग चित्र र संगीतबारे केही ज्ञान लिने मौका पाए । फाउन्डेसनकै सहयोगमा उनी चित्रकला प्रदर्शनीका लागि ताइवानसम्म पुगिसकेका छन् ।

मान्छेले सुखमा मात्तिने र दुःखमा आत्तिने स्वभाव राख्नु हुँदैन भन्ने बोम्जनले बुझेका छन् । भन्छन्, ‘रोएर, टाउको फुटाएर सबै कुरा हुने होइन । आफूलाई विश्वास गरी अगाडि बढ्न सकेमा सोचेको जस्तै हुने रहेछ ।’ अहिले बोम्जन गायक तथा व्यावसायिक चित्रकारका रूपमा चिनिएका छन् । उनका ८ महिनाकी छोरीसहितको सुखी परिवार छ । श्रीमतीले उनको हेरचाह गर्छिन् ।

शारीरिक रूपमा अशक्त र फरक क्षमता भएका व्यक्तिहरूमाथि परिवार, समाज र राज्यले हेर्ने दृष्टिकोण नै परिवर्तन हुनुपर्ने फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाको धारणा छ । शारीरिक तथा मानसिक रूपमा अशक्त भएकाको जीवन सहज बनाई उनीहरूलाई आत्मनिर्भर बनाउन राज्यको नीति राम्रो हुनुपर्ने उनले बताए ।

पालिका प्रेस
थप जानकारी