पोखरा महानगरपालिकाले ४ वर्षमा ९ वटा वडा कार्यालय भवन निर्माण गरेको छ । स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले बताएको छ । वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपांगतामैत्रीसमेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।

हालसम्म वडा नम्बर २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । वडा नम्बर ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नम्बर ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ । सूचना अधिकारी पौडेलले भने, ‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौँ । केहीको प्रक्रिया सुरु भए छिट्टै शिलान्यास गर्छौं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रूपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।

महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा ४ वर्ष खर्चिएकामा हालै वडा नम्बर ९ नयाँबजारस्थित दमकलमार्गमा सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्नेछ ।  हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यताका कारण सेवाग्राहीलाई झन्झट भएको छ ।   ‘अन्डरग्राउन्ड पार्किङ’ सहितको ५ तले भवन १९ करोड ५ लाख रुपैयाँमा निर्माण सम्झौता गरिएको छ । गत १० असोजमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध/ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताए ।