दोलखाको तामाकोसी गाउँपालिकाले ऐतिहासिक गढीको संरक्षण तथा सम्वद्र्धनका लागि सुविधासम्पन्न पैदल मार्ग निर्माण सुरु गरेको छ । पालिकाको ७ वटै वडाको संगम स्थलका रूपमा रहेको सो गढी संरक्षणका लागि कालीदेवी मन्दिर–देउरालीगढी–हिले गढीसम्मको करिब १५ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष ईश्वचन्द्र पोखरेलले जानकारी दिए ।

उनका अनुसार यो वर्ष संघको साढे ३ करोड र पालिकाको २ करोड २४ लाख ३५ हजार रुपैयाँको लागतमा करिब ४ किलोमिटर सुविधासम्पन्न पदमार्ग निर्माण गर्न लागिएको हो । बहुवर्षीय रूपमा १५ किलोमिटर पदमार्ग निर्माण गरिने लक्ष्य छ । पदमार्गका दुवैतर्फ रेलिङ रहनुका साथै बीच–बीचमा शौचालय, धारासमेत व्यवस्था गरिनेछ ।

पदमार्गको शोभा बढाउने गरी पुरातत्त्वको करिब १ करोड रुपैयाँको लागतमा पुरातात्त्विक काली मन्दिर निर्माण भइरहेको छ । गत वर्ष पालिकाले सो गढीको संरक्षणका लागि घेरबार गरिसकेको छ । नजिकमा आकर्षक मन्दिर निर्माण भएको जानकारी दिँदै पालिका अध्यक्ष पोखरेलले भने,‘सुनसान रहेको यो स्थलमा दैनिक २०/२५ जनाको जमघट हुन थालेको छ । केही होटल सञ्चालन भई आयआर्जनसमेत हुन थालेको छ । यो पदमार्गले अझ पर्यटकको विस्तार हुने अपेक्षा छ ।’

घोर्नालीसम्म पुग्ने पदमार्गमै पर्ने गोरेनागीमा पोखरी, वनभोजस्थल, खेलमैदानसमेत निर्माण भइसकेको उनले बताए । पहुँच पुगेको स्थानमा मात्र विकासे काम हुने परिपाटी अन्त्य गर्दै सबै स्थानमा विकास निर्माण पु¥याएर आयआर्जन गर्न सक्ने वातावरणका लागि पदमार्ग निर्माण भएको बताइएको छ । अंग्रेजको लडाइँ हुँदा सिन्धुलीगढी, मेलुङगढी, सदरमुकाम चरीकोटमा लडाइँ डाँडोसमेत हुँदा यहाँ पनि त्यतिबेलै गढी बनेको र अहिले पनि केही भग्नावशेष रहेको स्थानीय बताउँछन् ।