जुम्लाको तिला गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण थालेको छ । पालिकाले कार्यालय भवन तीन वटा ब्लकमा निर्माण थालेको हो । मुख्य कार्यालय रहने ((क) भवन निर्माण गर्न ३ करोड ७५ लाख २४ हजार १५३ रुपैयाँ बजेट रहेको प्राविधिक धनप्रसाद चौलागाईंले बताए । उनले भने, ‘(ख) ब्लक भवनको बजेट १ करोड १६ लाख ३३ हजार १५ रुपैयाँ रहेको छ । (ग) ब्लक भवन निर्माणका लागि ४२ लाख ४५ हजार ९६८ रुपैयाँ छुट्याइएको छ । (ख) र (ग) ब्लकका भवन सटर भाडामा दिएर गाउँपालिकाको आम्दानी लिने गरी भवनको संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, ‘पालिका भवन निर्माणका लागि प्रदेश र संघीय सरकारको पनि बजेटमा सहयोग रहेको छ ।’  गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले भनिन्, ‘गाउँपालिका भवन निर्माण गर्न स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय धन्यवादका पात्र हुन् । तिनलाई पालिकाले सम्मान गर्नेछ ।’ आफूहरूकै कार्यकालमा पालिकाको कार्यालय भवन निर्माण हुने गरी कामलाई तीव्र बनाइएको उनले जानकारी दिइन् । यस्तै, सिंजा गाउँपालिकाले ६ करोड रुपैयाँको बजेटमा आफ्नो कार्यालय भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर ३ को नराकोटमा कार्यालय भवन निर्माण गर्न थालेको हो ।

सिंजाबासीले गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माण थालेको हो ।  गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार १ करोड ४० लाख रुपैयाँमा भवन निर्माण पूरा हुनेछ । उक्त बजेटले एक तले १४ कोठे भवनको फाउन्डेसन र बाउन्ड्री पर्खाल, गेट निर्माण भइरहेको छ । संघीय र प्रदेश सरकारसँग बजेटको पहल गरिए पनि टुंगो लाग्न नसकेको उनको भनाइ छ । गाउँपालिकाले भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेपछि संघीय सरकारले बजेट विनियोजन गर्ने भन्ने थियो ।  तर, हालसम्म संघीय सरकारले बजेट व्यवस्थापन गर्न नसकेको उनले बताए ।

गाउँपालिका आफैंले ६ करोड रुपैयाँ बजेट विनियोजन गरी भवन निर्माण गर्न सक्ने अवस्था छैन । यस विषयमा संघीय सरकार र प्रदेश सरकारसँग गुहार मागेको तर सुनुवाइ नभएको अध्यक्ष रावलले बताए । ‘बजेट कतैबाट नजुटेपछि भवन अधुरै रहने हो कि भन्ने चिन्ता बढ्न थालेको छ’, उनले भने । पाँच वर्षसम्म पनि जुम्लाका कतिपय स्थानीय तहको मुकामसमेत तोकिएका छैनन् भने चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाबाहेक यहाँका सात गाउँपालिका भाडाका घरमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

हिमा, कनकासुन्दरी, पातारासी, तिला, गुठीचौर र तातोपानी गाउँपालिका भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएका छन् । सिंजा, तातोपानी र तिला गाउँपालिकाले पालिकाको केन्द्र टुंगो लगाई सकेका छन् । हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिकाले पालिकाको केन्द्रसमेत टुंगो लगाउन सकेका छैनन् ।

पालिका प्रेस
थप जानकारी