यो कात्तिक महिनाको अन्तिम साता हो । अब केही दिनमै मंसिर महिना लाग्छ । मंसिर लाग्दा नलाग्दै लेकबेशीमा ढकमक्क पैयुँ फुल्न थालिसकेको छ । पैयुँ फुलेर वातावरण उल्लासमय भएको छ । उसै पनि यो समयमा मुस्किलले केही वनस्पतिहरु मात्र फुल्छन्। हामी पनि साधारण रुपमा फूल फुल्ने समय भन्नासाथ वसन्त ऋतु र दसैँ तिहारको समय सम्झिन्छौँ।

छोटा हुँदै गएका दिन, मलिन हुँदै शरदको संकेत गरिरहेका घाम र बढ्दै गएको चिसोका बीच गुलाबी–सेतो रंग मिसिएर र कतिपय हल्का सेतो रङमा गुजुमुज्ज भएर फुलेका पैयुँले प्रकृतिको रोमान्चकतालाई कायमै राखेका छन्। प्रकृतिले फरक फरक मौसममा फरक फरक ढङ्गले आफ्नो सुन्दरता हामीसामु पस्किन्छ भन्ने उदाहरण मकवानपुर थाहानगर र आसपासमा ढकमक्क फुलेका पैयुँका फूलले प्रस्तुत गरिरहेका छन् । पैयुँ (स्थान विशेष अनुसार उच्चारण र लेखाइ फरक पर्नसक्छ) समुन्द्री सतहबाट १२००–२४०० मिटरसम्मको उचाइमा पाइने पतझर वनस्पति हो। अरु पतझर वनस्पतिको तुलनामा यसका पातहरु छिट्टै (असोज, कार्तिक) झर्छन् र मंसिर महिना लाग्दा नलाग्दै मुस्कुराई हाल्छन् अर्थात फुल्दछन।

यसको यही विशेषताले पैयुँलाई खास बनाएको छ। कश्मिरदेखी नेपाल, भारत, सिक्किम, भुटान, म्यानमार हुँदै भियतनामका पहाडी क्षेत्रमा पाइने भएकाले नै यसलाई अंग्रेजीमा ‘वाइल्ड हिमालयन चेरी’ भनिएको हो। पैयुँको वैज्ञानिक नाम ‘प्रुनुस सेरासोइड्स’ हो। वनस्पति जगतमा प्रुनुस नामक एक जिनस (वंश) छ जसमा फूल फुल्ने हजारौं वनस्पति पर्दछ्न्। सामन्यतया हामीले सुन्दै आएका आरु, आरुबखडा, खुर्पानी, चेरी, आलमण्ड जिनस प्रनुस अन्तर्गत पर्छन्। प्रनुस एउटा वंश भयो भने यसभित्र धेरै प्रजातिहरु पर्छन् र तिनीहरुका पनि आफ्ना आफ्नै भेराइटीहरु (जात) छन्। फलको प्रकारका आधारमा चेरी पनि प्रुनुस वंशभित्रको एउटा समूह हो जसभित्र धेरै प्रजाति र भेराइटिका वनस्पति पर्छन् र पैयुँ पनि चेरीभित्रै पर्ने एउटा वनस्पति हो।

संसारमा धेरै प्रकारका चेरी पाइन्छन्, कोही फलफूलका रुपमा खाइन्छ,कोही आलंकारिक वनस्पतिको रुपमा प्रयोग गरिन्छ। प्रशस्त पोलेन र नेक्टर भएको फूल फुलाउने भएकाले मौरिपालनमा पनि चेरीको ठूलो महत्त्व छ। नेपालको पहाडी क्षेत्रमा पाइने पैयुँ चेरीहरुमा पनि विशेष छ भन्न सकिन्छ किनकी संसारमा जाडो मौसम (नोभेम्बर–डिसेम्बर) मा फुल्ने थोरै प्रजातिका चेरी मध्ये हाम्रो देशमा पाइने पैयुँ पनि पर्छ। पैयुँ फलफूलको रुपमा खान खासै प्रयोग गरिँदैन तापनि थोरै मात्रामा यसको फल पाक्ने समयमा (चैत्र–वैशाख) खान सकिन्छ। गाउँघरमा पेट सफा गर्ने घरेलु औषधिका रुपमा यसलाई प्रयोग गरिएको पनि पाइन्छ। हिन्दु परम्परामा पैयुँलाई पवित्र वनस्पतिका रुपमा प्रयोग गर्ने र असल काठको रुपमा पनि यसको प्रयोग गरिँदै आएको छ । विवाहमा यसकै जग्गे गाड्दा पवित्र हुन्छ भन्ने मान्यता छ ।

जापानमा नेपाली डायस्पोरा बढेसँगै त्यहाँ वसन्त ऋतुमा फुल्ने साकुराका मनमोहक तस्बिरहरु हाम्रा फेसबुक, इन्टाग्रामसम्मै आइपुग्छ्न। जापानमा फुलेका साकुराका तस्बिर देख्दा नेपाल बसेका हामी पनि रोमान्चित हुन्छौँ तर हामी धेरैलाई के थाहा छैन भने साकुरा (प्रनुस सेर्रुलटा) र पैयुँ (प्रुनुस सेरासोइड्स) एउटै वंशका वनस्पति हुन। यिनीहरुको परिवार पनि एउटै हो। जापान, कोरिया, चिनमा साकुरा फुल्दा त्यहाँ ठूलो उत्सव नै लाग्छ। आन्तरिक तथा विदेशी पर्यटकहरुको साकुरा फुलेको मनमोहक दृश्य हेर्न घुइँचो लाग्छ। जापानमा साकुरा र कोरिया, चीनमा अरु नै नामले चिनिए पनि यो त्यहाँको जीवनशैलीको एउटा हिस्सा बनेको प्रष्ट रुपमा देख्न सकिन्छ। तर नेपालका पहाड नै ढाकेर फुल्ने पैयुँले भने कुनै महत्व पाउन सकेको छैन।

‘नेपालमा हुँदा पैयुँ नचिन्ने नेपालीले जापान गएपछि साकुरासँग फोटो खिच्छ’ भन्ने भनाइ सामाजिक सन्जालतिर यदाकदा सुनिन्छ, हामी देख्छौं पनि। यसबाट नै बुझ्न सकिन्छ हामीले पैयुँको महत्वलाई कसरी नजरअन्दाज गरेका छौँ। सुरुमै भने जस्तै संसारमा जाडो महिनामा फुल्ने चेरीको प्रजाति एकदमै कम छन्। उसै पनि कम फूल फुल्ने जाडो महिनामा फुल्ने पैयुँ कति महत्त्वपूर्ण छ, हामीले सजिलै अनुमान लगाउन सकिन्छ। वसन्त ऋतुमा काठमाडौंको घन्टाघर र त्रिचन्द्र क्याम्पस वरपर ज्याकाराण्डा फुल्दा काठमाडौंको सुन्दरताले सीमा नाघ्छ। सामजिक सन्जालदेखि मुलधारका मिडियामा ज्याकाराण्डाको चर्चा हुन्छ। यदि हामीले हाम्रो पहाड क्षेत्रमा रहेको पैयुँलाई हाम्रा सहर, बगैंचा र पार्कहरुमा स्थान दिनसकेमा यसले हाम्रो सहरी सौन्दर्य बढाउने निश्चित छ। अरु फूल नफुल्ने मौसममा फुल्ने पैयुँ हाम्रो पर्यटन विकासको एउटा आधार पक्कै बन्नसक्छ।

अरु पनि धेरै प्रकारका फूल फुल्ने मौसममा फुल्ने साकुराले त त्यति धेरै पर्यटक आकर्षित गर्नसक्छ भने पैयुँको सम्भावना त त्योभन्दा बढी छ। प्राकृतिक रुपमा पनि सुन्दर सहर, नगर, बगैंचा र पार्क बनाउने नीति सबै तहका सरकारले लिइरहेको सन्दर्भमा पैयुँको उपयोग त्यसको लागि गर्न सकिने आधार प्रशस्तै छ । सामान्य रुपमा हुर्किएका पैयुँका रुख अलि अग्ला हुन्छन् जुन हाम्रा लागि उपयुक्त नहुन सक्छ तर होचा जातका पैयुँको विकास गर्नु र उचित छाँटकाँटबाट आफूले चाहेको आकारमा ढाल्नु वैज्ञानिक हिसाबबाट पनि कुनै गाह्रो काम होइन । पैयुँको अर्को महत्वपूर्ण पक्ष भनेको यसले मौरीपालन व्यवसायमा खेल्ने सकारात्मक भूमिका हो। प्रशस्त मात्रामा पोलेन र नेक्टर पाइनु र अरु फूल नफुल्ने समयमा फुल्नु नै यसको विशेषता हो। जाडो मौसम सुरु हुनलाग्दा मौरीहरु कमजोर भएका हुन्छन् र उसै पनि खानाको कमि हुन्छ। यस्तो बेलामा मौरीको खाद्यस्रोतको सुनिश्चितता गर्न पनि पैयुँ महत्वपूर्ण छ। जाडो मौसममा मौरीलाई पर्याप्त खाद्यस्रोत उपलब्ध नहुँदा मौरीपालक कृषकले कृत्रिम खाद्यान्नको प्रयोग गरेको अवस्थामा त्यसको विकल्पको रुपमा पैयुँको फूल उपयुक्त विकल्प हुनसक्छ। खाली रहेका जमिन र जंगलमा पैयुँको रुख रोपेर मौरीको चरन क्षेत्रका रुपमा विकास गर्न सकिन्छ जसबाट हाम्रा कृषकले उचित लाभ लिन सक्छन्।

हाम्रो पहाड पर्वतमा रहेका सम्पत्तिलाई अरुले चिनेर त्यसको विकासमा लगानी गरेपनि हामीले भने आफ्नै सम्पत्ति चिन्न सकेका छैनौँ। यो हाम्रो तितो यथार्थ हो। हामीले हाम्रा सहर,नगर,बगैंचा र पार्कमा पैयुँ रोप्न र विकास गर्न सकिन्छ । तर योजनाको कमी छ । यो त हाम्रो ठाउँमा सजिलै हुर्कने, बढ्ने रैथाने वनस्पति हो। पैयुँको उचित सदुपयोग गर्न नसकेको यो अवस्थाको अन्त्य गर्न पैयुँको महत्व सबैलाई बुझाउन जरुरी छ। स्थानीय तहहरुले निर्माण गर्ने स्थानीय पाठयक्रममा पनि अलि महत्वकासाथ पैयुँको अध्ययन अध्यापन गराउने र मुलधारका मिडियाले पनि पहाडमा फुकेका पैयुँलाई उचित स्थान दिने हो भने आउँदा दिनमा पैयुँको सदुपयोग पक्कै हुनेछ।

हेर्नुहोस् फोटोहरुः

 

 

गणेश विष्ट
थप जानकारी