मकवानपुर थाहानगरमा रहेको इन्द्रायणी माइको मन्दिरमा प्रत्येक तीन वर्षमा लाग्ने मेलाको दोस्रो दिनको पुजा भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा शक्ति पिठको रुपमा मानिदै आएको इन्द्रायणी मन्दिरमा दोस्रो दिनको पुजा भएको हो । यस मन्दिरमा नियमित पुजा हुने भएपनि यसरी तीनदिनसम्मको मेला भने ३÷३ वर्षमा लाग्ने गर्दछ ।

तीनवर्षे मेला अन्तर्गत पहिलो दिन २२ मंसिरमा पालुङ र दामनको गोपालीगाउँबाट रथारोहण गरी थाहा नगरपालिका वडा नम्बर ३ स्थित इन्द्रायणी मन्दिरमा पु¥याएपछि तीनदिने मेला लाग्ने गर्दछ । मेलाको पहिलोदिन मन्दिरसम्म रथ पु¥याउने, दोस्रोदिन मुख्य पुजाआजा र तेस्रो दिन रथ फिर्ता ल्याउने चलन रहेको छ । मन्दिरमा इन्द्रायणी, गणेश, कालाभैरव र कुमारीको रथारोहण गर्ने परम्परा रहेको छ ।

मुख्य पुजाको अवसरमा २३ मंसिरमा मन्दिरसम्म बाटो नाप्ने ६ जना रहेका थिए । त्यस्तै पालुङको मात्र ६० र अन्यको २ सय २ गरी एकै्रदिन २ सय ६२ बोकाको बली दिइएको छ । त्यस्तै सयौको संख्यामा कुखुराको बली चढाइएको छ भने सर्वसाधारणको तर्फबाट एकजनाले पञ्चबली चढाएका छन् ।

दोस्रो दिनको पुजाविधिः
दोस्रो दिन अर्थात् प्रतिपदा तिथिको दिन विहान सबेरै थकू जुजु गंगाजीमा नुहाइ धुवाइ गरी शुद्ध गरी पूजा सामग्री तयार पारेपछि देउलाहरु थकू जुजुको घरमा बाजा बजाई पूजा लिन आउँछन् र थकू जुुजुको पूजाको साथै कर्माचार्य पनि जान्छ । सर्वप्रथम थकू जुजुको पूजा सकेपछि मात्र अन्य गाउँलेहरुको पूजा सुरु हुन्छ । त्यो दिनको जात्रालाई मूल जात्रा पनि भनिन्छ । त्यो दिन बलि पूजा गर्नेहरुको लाईन छुट्टै हुन्छ । भजन कीर्तन गर्नेहरु छुट्टै हुन्छन् । पञ्चबलि पूजा छुट्टै हुन्छ । दुंदनेगु (बाटो नाप्ने) अर्थात् अष्टांग दण्डवत गर्नेहरुको पूजा छुट्टै हुन्छ । त्यसैक्रममा बलि पूजा तान्त्रिक कर्माचार्यबाट बलि बोका संकल्प गर्छन् । आचार्यबाट बोकाको टाउकोमा जल चढाई यस जुनीमा पशु भएर जन्मेपछि श्री भगवान महामाया भगवती जगत जननी माताको पाउमा रक्त चढाई मुक्त हुन चाहन्छु ।

अब कोटी कोटी जन्ममा पनि पशु भएर जन्म लिन नपरोस्, सदा सदा बैकुण्ठ बास होस् भनी मन्त्र पढेर फूल अक्षता बलि बोकाको टाउकोमा हाली दिन्छन् । त्यसपछि पानी मन्त्रेर कानमा हालेपछि बोका प्रसन्न हुन्छ, त्यसपछि बोकालाई इन्द्रायणी स्थान भित्र लगिन्छ र बलि चढाइन्छ । यसरी हजारौँ हजार वली पूजा हुन्छ । त्यो दिन बहुत हर्ष उल्लासका साथ दर्शकहरुले जात्रा अवलोकन गरेको हुन्छ । धिमे बाजामा नाच्ने, बाँसुरी बाजामा नाच्ने, विभिन्न बाजामा नाच्दै गाउँदै देवी परिक्रमा गर्ने हजारौँ हजार दर्शक महानुभावहरु हुन्छन् । यसरी क्रमशः लाईनमा आउने सबै बलि पूजा यही रीतले हुन्छ । त्यो दिन करिब दिउँसो २÷३ बजेसम्म बलि पूजा, पञ्चबलि पूजा एकनासले चलि नै रहन्छ । देवी स्थान भित्र बलि काट्ने, पूजा गर्ने मध्ये देउता नाइके १, काला भैरव पूजारी, भगवती पूजारी, इन्द्रायणी पूजारी, गाँ नायः, द्यःपाः समेत ६ जनाले सबै भक्तजनहरुको पूजा गरिदिन्छन् । सो दिनको पूजा समाप्त भएपछि दोस्रो दिनको जात्रा पनि सकिएको हुन्छ । त्यसपछि पूजा कर्ताहरु हातमुख धोएर आउँछन् र पूजारीहरुलाई भण्डारेले खाना खुवाउँछन् । त्यसपछि अब बोकाको टाउको झिक्ने काम सुरु हुन्छ र थकू जुजुको घरबाट पूजा ल्याई पूजा गरिसकेपछि बोकाको टाउको चलाई फिजाई दिन्छ र १६ द्वारेहरुको बोकाको टाउको बाँडिदिन्छन् ।

त्यस दिन अरु पूजा गरिँदैन र फूल प्रसाद बाँड्ने काम सुरु हुन्छ । १६ द्वारहरुले बोकाको टाउको घरमा लगेर त्यसै रात माइस्थानमा मध्य रातमा स्यू का भ्वय् (टाउके भोज) गरिन्छ । दोस्रो दिनको रातिमा इन्द्रायणी माईको प्राङ्गण मसानमा कोटिहोम गरिन्छ । यस जात्राका हर्ता कर्ता एवं विधिविधानको लागि सम्पूर्ण कार्य गर्ने थकु जुजुहरुको पुस्ताका मोहनमान श्रेष्ठका दाजु भक्तमान श्रेष्ठ, उहाँहरुका बुबा कृष्णमान श्रेष्ठ, कृष्णमानका बुबा जुजुमान श्रेष्ठ, जुजुमानका बुबा बलकृष्ण श्रेष्ठ रहेको कुरा अवगत भएको छ ।

पालिका प्रेस
थप जानकारी