महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका कर्मचारीको सरुवा गरे पनि सूची सार्वजनिक गरेको छैन । मंगलबार सरुवा गरेको भए पनि शुक्रबारसम्म गोप्य राखिएको छ । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ८७ उपसचिव, १ सय १७ लेखाअधिकृत र २ सय भन्दा बढीको सरुवा भएको छ । तर यो सूची अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

 महालेखाको सरुवामा ठूलो आर्थिक चलखेल भएको र सूची हेरफेर गर्नकै लागि सरुवा गोप्य राखिएको स्रोतले बतायो । सरुवा गरेको तीन दिन बितिसक्दा पनि महालेखाको बेबसाइटमा नराखिनुले पनि चलखेल भएको कुरा पुष्टि गरेको छ । महालेखा नियन्त्रक कार्यालयको सरुवामा नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनका रविन कोइराला र माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका इन्द्र गौतमले ब्यापक आर्थिक संकलन गरी सरुवामा सधैं आकर्षक कार्यालयमा बसेकालाई नै पुनः आकर्षक अयाोजना र कार्यालयमा सरुवा गरेको आरोप छ ।

महालेखाको सरुवामा दररेट तोकेर ६ करोडकै हाराहारीमा संकलन गरेको आरोप छ । लेखा अधिकृतसमेत रहेका एमाले निकट निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफ्नो सरुवा निजामती अस्पताल बानेश्वरमा मिलाएका छन् । संगठनको आडमा लेखापाल(सुब्बा) रहुन्जेल शान्ति कोष, सरुवा रोग अस्पताल टेकूजस्ता आकर्षक कार्यालयमा बिताएका कोइरालाले बढुवा भएको एक बर्षमै पुनः अर्को आकर्षक निजामती अस्पतालमा सरुवा मिलाएका छन् । निजामती अस्पतालमा लेखाअधिकृत नै लेखाको प्रमुख हुने ब्यवस्था छ । अस्पतालको खरिदमा कमिसन खानकै लागि उनले एमालेको कोटामा आफ्नो सरुवा मालदार कार्यालयमा मिलाएका छन् ।

त्यसैगरी, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावलकी श्रीमती प्रमिला रावललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । अर्थमन्त्री माओवादीकै भएकाले आफ्नै हात जगन्नाथ गर्दै रावलले आफ्नी श्रीमतीलाई परराष्ट्रमा सरुवा गराएका छन् ।

दररेट अनुसार घुस दिन अस्वीकार गरेपछि इलाम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा ४ बर्ष कार्यरत उपसचिव भूमिराज भूसाललाई काठमाडौं सुन्धारा कोलेनिकामा ल्याएर घोर अन्याय गरिएको छ ।

उपसचिवद्वय रविन कोइराला र इन्द्र गौतमले लेखा समूहका कर्मचारीसँग मोलमोलाई गरी न्यूनतम १० देखि कार्यालय र आयोजनाको बजेट हेरी २० लाखसम्म उठाएको आरोप छ । एक लेखाअधिकृतले भने–मसँग १० लाख मागेका थिए, तर मैले दिन्न भनेपछि मलाई अनाकर्षक कार्यालयमा फाले ।
लेखा समूहका कर्मचारीको सरुवा विवादमा परेपछि महालेखा नियन्त्रक हरिप्रसाद मैनाली मोवाइल स्वीचअफ गरी बसेका छन् भने प्रवक्ता शम्भुप्रसाद मरासिनी प्रतिक्रियाका लागि पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउनै छाडेका छन् । सरुवा गोप्य राखिएकोबारेमा महालेखा नियन्त्रक हरिप्रसाद मैनालीसँग सम्पर्क गर्दा तीन दिनदेखि उनको मोवाइल स्वीचअफ रहेको छ । मरासिनीले मोवाइल रिसिभ नै गरेनन् ।

महालेखाको सरुवामा आर्थिक संकलन गरिएको कुरा झुटो भएको उपसचिव रविन कोइरालाले बताए । उनले भने–‘स्वतन्त्र अभिब्यक्ति दिन पाइन्छ । प्रमाण छ भने तथ्यसहित लेख्नुस् । मानमर्दन नगरिदिनुस् ।’

५ बर्ष काठमाडौं उपत्यकाबाहिरको जिल्लाको कोलेनिका बसेका उपसचिवलाई काठमाडौं कोलेनिका पठाउनु मापदण्ड अनुसार हो त भन्ने जिज्ञासामा कोइरालाले भने–‘उहाँले काठमाडौं उपत्यका भन्नुभएको थियो, उहाँसँगै बसेर कुरा गरौैं, कुरा क्लीयर हुन्छ । उहाँसँग बसेर कुरा गर्न म तयार छु ।’

-नेपालफेसबाट

पालिका प्रेस
थप जानकारी