निर्माणाधीन ऐसेलुखर्क गाउँपालिका भवन । तस्बिर सौजन्य : ऐसेलुखर्क गाउँपालिका

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको छ । रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभीद्वारा निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टि गरेपछि ठेक्का रद्द गरिएको हो । निर्माणाधीन भवन गुणस्तरहीन भएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले प्रतिवेदन दिएपनि उक्त भवन निर्माणमा संलग्न प्रतिनिधिले किर्ते गरेर गाउँपालिकालाई प्रतिवेदन बुझाएको र गुणस्तरका लागि पटकपटक अनुरोध गर्दा समेत बेवास्ता गरिएकाले ठेक्का रद्द गर्नु परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।

उक्त भवन तीन करोड ६९ लाख ८५ हजार आठ सय ७३ रुपैयाँको लागत इस्टिमेटको आधारमा टेन्डर आह्वान गरिएपनि मूल्यअभिवृद्धि करसहित दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ रुपैयाँमा ठेक्का पारेको हो ।

पुस ११ गतेको निर्णयले ठेक्का सम्झौता रद्द, धरौटी जफत, उक्त भवन निर्माणका लागि पेस्की फिर्ता र निर्माणमा संलग्न निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया बढाइएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । उनका अनुसार ३१ लाख दुई हजार एक सय ३० रुपैयाँ धरौटी जफतका लागि नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा पत्राचार गरिएको छ ।

यसबाहेक भवन निर्माणका लागि लिएको करिब ६२ लाख रुपैयाँ बराबरको बिगो दाबी र निर्माणमा संलग्न रुजन के निर्माण सेवा प्रालि दिक्तेल, जगदम्बा निर्माण कम्पनी प्रालि काठमाडौं, भुवनेश्वरी एन्ड वैभव बिल्डर्स प्रालि काठमाडौंलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पत्राचार गरी प्रक्रिया समेत बढाइएको यादवले सुनाइन् । ‘हामीले पटक–पटक सच्चिने अवसर दियौं,’ यादवले भनिन्, ‘तर बेवास्ता गरिएपछि ठेक्का रद्द, घरौटी जफत, पेस्की फिर्ता र कालो सूचीमा राख्ने प्रक्रिया बढाइएको हो ।’

उक्त भवनको काम चित्त नबुझेपछि २०७८ जेट २१ गते भवनको भुइँतलाको पिलरको नमुना परीक्षणका लागि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको थियो । उक्त नमुनाको प्रतिवेदन गायब गरेर नक्कली प्रतिवेदन तयार गरेर सम्बद्ध निर्माण कम्पनीले गाउँपालिकालाई बुझाएको यादवले सुनाइन् । किर्ते गरी ठगी गरिएकाले यस विषयमा पनि मुद्दा दायर गरिने यादवले सुनाइन् । ‘यो विषयमा सिआईबीले अध्ययन गरिरहेको बुझिएको छ ।,’ यादवले भनिन् ।
पालिका प्रेस
थप जानकारी