कास्कीको रुपा गाउँपालिका ७ हंसपुरका विश्वकर्मा युवा लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घामा ठेकी बनाउँदै । गाउँमै बजार नपाएपछि हंसपुरका ३० जनाले ६ समुह बनाएर कास्की, लमजुङ र तनहुँका विभिन्न वस्तीमा पुगेका छन् । तस्बिर: पूर्ण विके, रासस

गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र  मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ ।

कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आएकाछन् । तर बजार नपाएपछि उनी बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्छन् । पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताए ।

उनीसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आएकाछन् । उनले भने, “सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।”
“आफूहरुले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ”, उनले भने, “ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुई वटासम्म ठेकी बनाउने गर्दछौँ ।”

कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरुले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताए । “गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने रु, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्छौँ”, उनले भने  ।

हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरुको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताए । “गाउँमा बाबुबाजेले यही पेशा गर्दै आउनुभएको थियो”, स्थानीय रामबहादुर विश्वकर्माले भने । समूहगत रुपमा छलफल भएअनुसार आफूहरु कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उनले जानकारी दिए । रामबहादुरले भने, “समूह बनाएर बाँडिएर फरक–फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।”

केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरुसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका–४ रम्घाका श्रीकृष्ण सोतीले बताए । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उनको भनाइ छ ।
“ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ । तर राम्रो भनेर दुई वर्षअघि किनेको फुट्यो”, सोतीले भने, “त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाउँदै गरेको किनेको छु । अब भने ५-७ वर्ष केही नहोला भन्ने ठानेको छु ।”

आफूहरुले परम्परागत रुपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भए पनि लगानी अभावका कारण उद्योग दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताए । गाउँका अधिकांश व्यीक्त साक्षर मात्र छन् । एसइई उत्तिर्ण गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उनको भनाइ छ ।

यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछन् । ठेकी प्रतिमाना रू चार सय तथा गिलास, कचौरा र कप आकारका आधारमा रू एक हजारदेखि रु दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । काठका यस्ता सामान बनाउँदा विभिन्न सामग्रीको आवश्यकता पर्दछ । यसरी विभिन्न काठका सामग्री उत्पादन गर्ने गरेका भए पनि बजार तथा उचित मूल्य पाउन भने समस्या हुने गरेको व्यवसायी बताउँछन् । रासस

पालिका प्रेस
थप जानकारी