हेटौंडा उपमहानगरपालिकाको मुख्य सडकका अतिक्रमित टहरा हटाउन सुरु गरिएको छ । उपमहानगरपालिका कार्यालयले हेटौंडाको मेनरोड, रापतीरोड लगायतका मुख्य बजार क्षेत्रका पछी थपिएका टहराहरु हटाउन सुरु गरेको हो ।

अहिले घरमा अघिल्तीर व्यापार गर्नका लागि सहज हुनेगरी अतिक्रमित संरचना हटाउने तर राजमार्ग विस्तारको काम भने सुरु गरिएको छैन । बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायीरुपमा घरसँगै जोडेर निर्माण गरेको टपहरु भत्काउन सुरु गरिएको हो । उपमहानगरका अहिले त्रिभुवन राजपथको चौकीटोल ओरालादेखि पूर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडिसम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थायी टप निकाल्ने काम नगर प्रहरीले गरिरहेको छ । व्यवसायीले आफ्नो व्यवसायको प्रवर्द्धनका लागि घरभन्दा बाहिर थपेको ‘अस्थायी टप’ उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम चलिरहेको उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाले बताए ।

हेटौंडा–१ तर्फ पर्ने त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्गको हेटौंडा अस्पतालसम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थायी टपहरु हटाइसकेको बताइएको छ । अब उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घरभन्दा बाहिर निकालिएको अस्थायी टप हटाउने भएको छ । अस्वाभाविक ढंगबाट फुटपाथ क्षेत्रलाई कब्जा गरी निर्माण गरिएको अस्थायी टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी