ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको सुविधालाई ध्यानमा राखेर बागलुङ नगरपालिका बागलुङले १५ शैय्याको नगर अस्पताल निर्माणको काम अघि बढाएको छ । बागलुङ नगरपालिका–१३ पैयुपाटा स्वास्थ्यचौकी लाई स्तरवृद्धि गरी नगर अस्पतालको सेवा विस्तार गरेको नगरपालिकाले सोमबार अस्पताल भवन निर्माणको सिलन्यास गरेको हो ।

पैयुपाटा क्षेत्रमा अस्पताल निर्माण हुँदा बागलुङ नगरपालिका–१२, १३, १४, १०, ११ वडाका स्थानीयले प्रत्येक्ष स्वास्थ्य सेवा उपयोग गर्न पाउँछन् । भवन निर्माणको जिम्मेवारी जुगल जेभीले लिएको छ । भवन निर्माणका लागि १२ करोड ८७ लाख रुपियाँमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिए ।

पहिलो चरणमा अस्पतालको मुख्य भवन, सवारी पार्किङ, पहुँच मार्ग, फोहोर मैला व्यवस्थापन क्षेत्र निर्माण हुनेछ । भवन २०८० साल असार २० गतेसम्म निर्माण कार्य सकिनु पर्ने इन्जिनियर शर्माले बताए । भवन निर्माणको लागि १८ करोड ५६ लाख रुपियाँ लागत स्टिमेट तयार भएपनि निर्माण कम्पनीले घटिघटाउमा सम्झौता गरेको छ ।

बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्माकाअनुसार अस्पताल भवन निर्माणको लागि चन्दा संकलनमार्फत नौ रोपनी जग्गा खरिद गरिएको थियो । नगर अस्पतालमा तीन जना मेडिकल डाक्टर, चार जना हेल्थ असिस्टेन्ट, दुई जना स्टाफनर्स, एक जना रेडियोलोजिष्ट, चार जना अनमी, फार्मेशिष्ट र ल्यावटेन्निसिनको दरबन्दी रहेको छ ।

बागलुङ सदरमुकाम आसपासका नागरिकलाई धौलागिरि अस्पताल उपचारको लागि पायक पर्ने हुँदा अस्पतालको पहुँचबाट टाढा रहेको नागरिकको क्षेत्रमा नगर अस्पताल विस्तार गरेको मेयर जनकराज पौडेलले बताए ।

पालिका प्रेस
थप जानकारी