दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालु जामुनेमा १५ करोड रुपैयाँ लागतमा १० शय्याको अस्पताल निर्माण गरिने भएको छ ।  संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । वडा नम्बर ४ को मालु, जामुनेमा अस्पताल निर्माणका लागि केन्द्र सरकारबाट टेन्डर स्वीकृत भइसकेको र अब चाँडै निर्माण थालनी गरिने तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।  अस्पताल निर्माणका लागि वडा नम्बर ४ का स्थानीयले ९ रोपनी जग्गा दान दिएको उनले जानकारी दिए ।

वडा नम्बर ४ का स्थानीय परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री, थीरकुमारी पोखरेल र जनार्दन पोखरेलले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दिएको वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । पालिकाको स्रोत–साधनले भ्याएसम्म नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा पु¥याइरहेको तामाकोसीमा अस्पताल सञ्चालन भएपछि थप सहज हुने गाउँपालिका अध्यक्ष पोखरेलको विश्वास छ ।

७ वटा वडा रहेको गाउँपालिकामा अहिले ८ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ७ वटै वडामा स्वास्थ्य चौकीले सेवा दिइरहेका छन् । स्वास्थ्य चौकीबाट अपायक स्थानमा रहेका स्थानीयका लागि ५ स्थानमा सामुदायिक स्वास्थ्य इकाइ व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाभित्र एक नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी