काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा अकासे पुलको शिलान्यास गरिएको छ ।  काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले चाबहिल चोक र मित्रपार्कमा अकासे पुलको शिलान्यास गरेका हुन् । कार्यक्रममा नगरप्रमुख शाक्यले अकासे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । स्थानीयको मागअनुसार पुल शिलान्यास गरिएकाले समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

‘काठमाडौं महानगरमा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ’, प्रमुख शाक्यले भने, ‘पहिला पनि यहाँ स्थानीयको मागअनुसार चाबहिल चोकको दक्षिणपट्टि एउटा पुल बनाइसक्यौँ । त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सराहना गरे । यस्तै, पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपट्टि शिलान्यास गरेका हौँ ।’

चाबहिलसँगै मित्रपार्कमा पनि पुलको शिलान्यास गरेको उनले बताए । ‘अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ । यहीँ बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ । एउटा कम्प्लिट हुने अवस्थामा छ । जयबागेश्वरीमा पनि सुरु भइसकेको छ, तार व्यवस्थापनका लागि केही समय लागिरहेको छ’, उनले भने, ‘त्यो पनि चाँडै सकिन्छ । यो क्षेत्रमै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना कम हुने र पैदल यात्रीलाई धेरै सहज हुनेछ । स्थानीयको सहयोग भए समयअघि नै काम सक्छौँ ।’

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । ०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइका हुनेछन् भने १ करोड ३० लाख ४२ हजार ५ सय ७८ रुपैयाँ लागत रहेको छ ।

मणीराज थापा
थप जानकारी