कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका सबै वडामा कार्यालय भवन निर्माण अघि बढाएको छ । नगरपालिकाले आफ्नै कार्यायल भवनमार्फत सेवा दिन भौतिक संचना निर्माणमा जोड दिएको छ  नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि भाडाका घरमा वडा कार्यालय सञ्चालन गरे पनि अहिले अधिकांश वडाको भवन निर्माण भइसकेका छन् । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले नगरका ९ वडामा कार्यालय भवन निर्माण भइसकेको बताए ।

उनका अनुसार नगरपालिकाको वडा नम्बर २, ६, ८, १२, १३, १५, १६, १७ र १८ को कार्यालय भवन निर्माण गरी सञ्चालनमा आइसकेका छन् । त्यसैगरी वडा नम्बर १, ४, ५, ७ र ११ को कार्यालय भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ३, ९, १०, १४ र १९ को कार्यालय भवन शिलान्यास भई निर्माणाधीन अवस्थामा छन् ।

गत शुक्रबार नगरप्रमुख सुरेन्द्र विष्टले वडा नम्बर ९ को कार्यालय भवन शिलान्यास तथा वडा नम्बर १३ को कार्यालय भवन उद्घाटन गरेका थिए । नगरप्रमुख विष्टले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गर्ने नगरपालिकाको योजना सफल भएको बताए । ‘स्थानीय तहको सरकार आइसकेपछि भाडाको घरबाट वडा कार्यालयको सेवा सुरु गरेका थियौँ,’ उनले भने, ‘बहुउपयोगसहित सबै वडामा आफ्नै पूर्वाधार निर्माण बढाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छौँ । सबै वडाको कार्यालय भवन निर्माण अघि बढेको छ । कतिपयमा सम्पन्न भएर सेवा सुरु गरिसकेका छन् ।’

कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा नगरबासीलाई सहज उनको भनाइ छ । नगरपालिकाले वडा कार्यालय भवनलाई सामुदायिक भवनको रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिरहेको छ । कार्यालय भवन करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेका छन् ।

पालिका प्रेस
थप जानकारी