बझाङको दुर्गाथली गाउँपालिकामा भरपर्दो इन्टरनेट सुविधा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले ३ सेवाप्रदायक कम्पनीका इन्टरनेट जडान गरे पनि राम्रोसँग काम नगर्दा कार्यालयको दैनिक कार्य सम्पादनमा समस्या भइरहेको हो । गाउँपालिकामा इन्टरनेट नहुँदा दैनिक गर्नुपर्ने काम प्रभावित हुन थालेपछि छुट्टाछुटै कम्पनीका इन्टरनेट जडान गरिए पनि समस्या सामाधान हुन नसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशीले बताए ।

कार्यालयमा हाल मर्कन्टाइल कम्युनिकेसन, एभरेष्ट लिंक र नेपाल टेलिकमको इन्टरनेट जडान गरे पनि एउटाबाट पनि भरपर्दो सेवा पाउन नसकिएको उनले जानकारी दिए । ‘अहिलेसम्म ३ कम्पनीका इन्टरनेट जोडिसक्यौँ,’ उनले भने, ‘जोडेको केही दिन राम्रो काम गर्छ, त्यसपछि काम गर्न छाड्छ । कुनै पनि दिगो हुन सकेका छैनन् । सेवाप्रदायकले कहिले टावरमा समस्या आयो भन्छन् कहिले के ।’ इन्टरनेट नहुँदा विभिन्न कार्यालयबाट आएका मेल हेर्नसमेत समस्या भएको उनको भनाइ छ ।

‘कतिपय पोर्टल पनि अनलाइनमै भर्नुपर्ने हुन्छ । कार्यालयका धेरैजसो आर्थिक काम पनि अनलाइन सिस्टमबाटै गर्नुपर्छ,’ उनले भने, ‘इन्टरनेट नहुँदा धेरै काम रोकिने गरेका छन् ।’ जिल्लाका अन्य पालिकामा इन्टरनेट समस्या भए पनि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘हामीले गाउँपालिका कार्यालयबाटै सेवा दिने भनेर सदरमुकाममा कार्यालय खोलेका छैनाँै । तर, काम गर्न निकै समस्या छ ।’ पालिकामा नेपाल टेलिकमको टावर भए पनि त्यो सोलार सिस्टमबाट चल्ने हुँदा नियमित काम नगर्ने उनले बताए । ‘घाम लागे मात्रै चल्छ, घाम अस्ताउनेबित्तिकै लाइन जान्छ,’ उनले भने, ‘टेलिकमको टावरमा विद्युत् जडान गर्न विद्युत कार्यालयमा आग्रह गरे पनि सुनुवाइ भएन ।’ यो वर्ष गाउँपालिकाबाटै टेलिकमको टावरसम्म विद्युत् विस्तार गर्न १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले पालिका कार्यालयलगायत वडा र विद्यालयमा पनि इन्टरनेट विस्तार गरे पनि कुनै ठाउँमा राम्रोसँग काम नगरेको बताए । इन्टरनेट समस्या समाधानका लागि मष्टामाडौंमा रहेको टेलिकम टावरमा विद्युत् पु¥याउनुपर्ने हुँदा यो वर्ष पालिकाबाटै बजेट विनियोजन गरे पनि सो बजेट कार्यान्वयमा समस्या भएको उनको भनाइ छ । ‘विद्युत् कार्यालयको भर परेर भएन । आफंै विद्युत् विस्तार गर्न बजेट विनियोजन गरे पनि विद्युत् र टेलिकम कार्यालयले तदारुकता नदेखाउँदा समस्या भएको छ,’ उनले भने, ‘गाउँपालिकामा इन्टरनेन नभई काम हुँदैन । यसले सेवाग्राहीबाट पनि गाली खानु परिरहेको छ ।’

पालिका प्रेस
थप जानकारी