रामेछापको मन्थली नगरपालिकामा ६५ किलोमिटर सडक कालोपत्रे भएको छ । मन्थली नगरपालिकाका प्राविधिक शाखा प्रमुख डिल्ली अधिकारीले हालसम्म मन्थली नगरपालिकाभित्र सङ्घ, प्रदेश र नगरपालिकासमेतको लगानीमा ६४.९७६ किलोमिटर सडक कालोपत्रे गरिएको बताए ।

१४ वटा वडा रहेको नगरपालिकामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि सडक पूर्वाधार विकासको कामले गति लिएको हो । मन्थली नगरपालिकाभित्र ३५.९४३ किलोमिटर सडक ग्राभेल तथा सोलिङ गरिएको उनले बताए । उनका अनुसार देवीटार–मन्थली–खुर्कोट करिब २० किलोमिटर सडक कालोपत्रेबाहेक अरू सडक जनप्रतिनिधि निर्वाचित भएर आएपछि कालोपत्रे भएको हो ।

नगरभित्रका मुख्य सडकमध्ये मन्थली–सुनारपानी–सालु, भुत्याखोला–टेकानपुर–कठजोर–ठाँटी, चिसापानी–गेलु–सिक्राल, चिसापानी–पुरानागाउँ, चिसापानी–चनखु, देवीटार–फुलासी, आकाशेपुल–भटौली, मन्थली–भलुवाजोर र मन्थली–सानीमदौ–राहालटार–सालु सडक कालोपत्रे गर्ने कार्य सुरु भई क्रमागत योजनामा परेको प्राविधिक शाखा प्रमुख अधिकारीले बताए ।

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आफूहरू निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा विभिन्न चुनौतीका बीच धेरै काम भएको भन्दै सार्वजनिक सेवा प्रवाहदेखि भौतिक पूर्वाधार विकाससम्मका काममा धेरै उपलब्धि हासिल भएको बताए ।

पालिका प्रेस
थप जानकारी