ललितपुर महानगरपालिकाले जावलाखेल चोकमा सूचना केन्द्र स्थापना गरेको छ । नगरबासीलाई नगरभित्रका समस्या, गुनासो र आवश्यकताबारे सहज रूपमा जानकारी गराउने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

सूचना केन्द्रले उपत्यका र ललितपुर महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराउनेछ । यसबाट महानगरबासी र पर्यटकले फाइदा लिन सक्नेछन् । महानगरले प्रदान गर्ने सेवा–सुविधा, राजस्व एवं नगरभित्रका सबै जानकारीबारे महानगरसम्म पुग्न नसक्ने नगरबासी र पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्र सुरु गरिएको नगर प्रमुख महर्जनले बताए ।

‘सूचना केन्द्रमा महानगरभित्रका सबै सूचना पाइनेछ । कुन शीर्षकमा कति राजस्व तिर्ने, खानेपानी, बिजुलीको बिल कहाँ तिर्ने, महानगरबाट के–के सेवा लिन के–कस्तो प्रक्रिया अपनाउने, महानगरका कुन वडा कहाँ पर्छ, वडा, टोल र बजारबारे सबै जानकारी पाइन्छ’, नगर प्रमुख महर्जनले भने ।

यस्तै, ललितपुरका पर्यटकीय क्षेत्रबारे जानकारी, प्रवेश शुल्कलगायतका सबै सूचना यहाँबाट पाउन सकिनेछ । नगरबासीले सूचना केन्द्रबाट जानकारी पाउनुका साथै गुनासो, सल्लाह, सुझाव तथा समस्याबारे सूचना दिन सक्ने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए ।

‘महानगरमा भइरहेको बेथिति, नियम विपरीत भइरहेका काम, नक्सापासबिनै बनिरहेका संरचना, नियमविपरीत बनाइएका ट्रस्ट, नो पार्किङमा पार्क गरेका सवारीसाधन, ढल, फोहोरलगायत समस्याबारे सूचना केन्द्रमा टिपाउन सकिन्छ’, हाछेथुले भने, ‘यहाँबाट गुनासो सुनिनुका साथै महानगरबाट पाउन सक्ने सबै सेवा–सुविधाबारे जानकारी लिन सकिन्छ ।’

महानगरभित्र भएका विकास निर्माणका कामको प्रगति, महानगरको बडापत्र, महानगरले दिने सेवा–सुविधा र महानगरभित्रका सबै जानकारी सूचना केन्द्रले दिने नगर प्रहरी प्रमुख हाथेछुको भनाइ छ । ‘महानगरलाई सफा सुन्दर र स्मार्ट बनाउनुका साथै महानगरका जानकारी सर्वसाधारणले सहजै पाउन् भनेर सूचना केन्द्र स्थापना गरिएको हो’, उनले भने, ‘सूचना केन्द्रबाट सूचना लिने र दिने सबै काम हुन्छ । कोही अप्ठेरोमा परे सूचना केन्द्रले सहज बनाउँछ ।’

सूचना केन्द्रबाट नगरबासीले आफूले टिपाएका समस्याबारे भएको प्रगति विवरणसमेत जानकारी पाउनेछन् । नगरबासीको समस्या समाधान गर्न यो सूचना केन्द्र सहयोगी हुने महानगरको विश्वास छ । कोरोना महामारीको समयमा महानगरमा सानो सूचना लिन धाउनुपर्ने, जानकारीका लागि पुग्दा भीडभाड धेरै हुने र बढ्दो जोखिमलाई केही हदसम्म नियन्त्रण गर्न सूचना केन्द्र सञ्चालनमा ल्याएको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार बिहान ७ देखि बेलुका ७ बजेसम्म जावलाखेल चोकबाट सूचना लिन सकिनेछ । महानगरका अनुसार ललितपुरका विभिन्न ७ ठाउँमा यस्तै सूचना केन्द्र राखिनेछ । चक्रपथभित्र ४ र चक्रपथ बाहिर ३ वटा सूचना केन्द्र राखिनेछ । महानगरका अनुसार जावलाखेलसँगै लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसेपाटी र सानेपामा सूचना केन्द्र राखिनेछ ।

पालिका प्रेस
थप जानकारी