साउन महिना बितिसक्दा पनि जलाधार क्षेत्रमा वर्षा नभएका कारण यसपाली कुलेखानी जलाशयमा पानीको सतह बढ्न सकेको छैन । मनसुन सुरु भएदेखि ३ भाद्र अपराह्नसम्म कुलेखानी जलाशयमा केवल ९ मिटर मात्र पानीको सतह बढेको छ । सुक्खायाममा कुलेखानी जलाशयको पानीको सतह १ हजार ४ सय ८५ मिटरसम्म झरेको थियो । वर्षायाम सुरु भएपछि कुलेखानी जलाशयमा बुधबार अपराह्नसम्म १ हजार ४ सय ९४ दशमलब ५६ मिटर मात्र पानी संकलन भएको छ । गतवर्षको भदौ ४ गते कुलेखानी जलाशयको सतह १ हजार ५ सय १६ दशमलब ४७ मिटर पुगेको थियो । ‘अहिलेको वर्षायाममा जलाधारक्षेत्रमा पानी नै परेको छैन,’ कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘साउन महिना बितिसक्यो, मौसमको छाँटकाँट हेर्दा यो वर्ष कुलेखानी जलाशय भरिन मुस्किलै छ ।’
कुलेखानी जलविद्युत आयोजनाका अनुसार गतवर्ष साउन– भदौमा जलाशयमा दैनिक ५० देखि ७५ सेन्टिमिटरपानीको सतह बढ्थ्यो, अहिले मुस्किलले २० सेन्टिमिटर पनि बढ्दैन । हाल कुलेखानी जलविद्युत् आयोजना भोल्टेज व्यवस्थापनका लागि मात्र कहिलेकाहीँ सञ्चालन गरिएको छ । कुलेखानी जलाशयमा पानीको सतह नबढेकाले सुक्खायाममा विद्युत् उत्पादनमा समस्या मात्र होइन, मार्खु र चित्लाङमा आएका आन्तरिक एवम् बाह्य पर्यटकहरु पनि निराश भएर फर्किने गरेका छन् । कुलेखानी जलाशयको पानीले ढाक्ने मार्खु र सिम्लाङ क्षेत्रका जमिनमा हाल चौपायाहरु चरिरहेका छन् । विगतका वर्षमा पर्यटक त्यही स्थानमा रमाइलो गरेर मजा लिने गर्थे । ‘गतवर्षको असोज १० देखि १२ गतेसम्म जलाधारक्षेत्रमा परेको वर्षाले मात्र कुलेखानी जलाशय भरिएको थियो । त्यस्तो वर्षा नभए अहिले परेको पानीले जलाशय भरिँदैन,’ कुलेखानी जलविद्युत् आयोजनाका एक वरिष्ठ प्राविधिकले भने । गतवर्षको असोज १०–१२ गते परेको पानीले जलाशय एक्कासि भरिएर कुलेखानीको ढोका खोल्दा तल्लो तटीयक्षेत्र सिस्नेरीको सडक, पुल र बस्तीमा क्षति पुगेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याक अप’को रुपमा रहेको कुलेखानी जलाशय भरि एन भने विद्युत् प्राधिकरणलाई सुक्खायाममा विद्युत् उत्पादन र वितर णमा समस्या हुनेछ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका, दामन, पालुङ, बज्रवाराही, चित्लाङ, इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधारक्षेत्र हुन् । यो क्षेत्रमा अहिलेसम्म वर्षा पर्याप्त भएको छैन । कुलेखानी जलाशयको पानी १ हजार ४ सय ८४ मिटर तल झर्दासम्म प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।
कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । कुलेखानी जलाशयमा संकलन गरिएको पानीबाट तीनै आयोजनाले विद्युत् उत्पादन गर्छन् । जलाशयको चौडाइ ३०० मिटर र लम्बाइ ७ किलोमिटर रहेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्