प्रतिनिधिसभाले वैशाख २८ गतेदेखि असार १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । संसद्को यस अवधिमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट निर्माणदेखि पारित गर्नेसम्मका मुख्य प्रक्रियाहरूलाई प्राथमिकताका साथ समावेश गरिएको छ।
कार्यतालिका अनुसार वैशाख २८ गते राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ भने सोही महिनाभित्रै नीति तथा कार्यक्रममाथि छलफल र धन्यवादको प्रस्ताव पारित गरिनेछ ।
जेठ महिनाको मुख्य आकर्षणका रूपमा जेठ १५ गते अर्थमन्त्रीबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने कार्यसूची तय भएको छ । त्यसअघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनुका साथै पर्यटन, चलचित्र र विधि विज्ञान प्रयोगशाला जस्ता विभिन्न विधेयकहरूमाथि पनि विचार विमर्श हुनेछ ।
बजेट भाषणपश्चात् जेठको अन्तिम सातासम्म मन्त्रालयगत बजेटमाथि छलफल र खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछन् । असार महिनाको सुरुवाती दिनहरूमा सम्बन्धित मन्त्रीहरूले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिने र असार २ गते विनियोजन विधेयक पारित गर्ने लक्ष्य राखिएको छ ।
कार्यतालिकाको अन्तिम चरणमा असार ८ गतेसम्म आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल गरी पारित गरेसँगै बजेट अधिवेशनका मुख्य कार्यभारहरू सम्पन्न हुने गरी संसद्को कार्यसूची तय गरिएको छ।
क्यालेन्डर:




























































प्रतिक्रिया दिनुहोस्