संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनीसहित सूचना जारी गरेको छ । मन्त्रालयले प्रचलित कानुन विपरीत राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट समेत हटाउन सकिने व्यवस्था रहेको स्मरण गराउँदै कर्मचारीलाई तटस्थ र निष्पक्ष भूमिकामा रहन निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा नेपालको संविधान तथा प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गरिएको छ । सोहीअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) मा निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा “भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने” व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।

सूचनामा सम्पूर्ण निजामती कर्मचारीलाई प्रचलित कानुनअनुसार अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । साथै कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन तथा निजामती सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले कुनै राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध संगठनको सदस्यता लिनु, राजनीतिक क्रियाकलापमा संलग्न हुनु वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्नु कानुन विपरीत हुने स्पष्ट पारेको छ ।

यस्ता गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कारबाही हुने ब्यहोरा समेत सूचनामार्फत जानकारी गराइएको छ ।

पालिका प्रेस
थप जानकारी