जाँगारिला र मिहिनेती व्यक्तिलाई कमाइ गर्न आफ्नै जग्गा नचाहिँदो रहेछ । अरूको जग्गा भाडामा लिएर पनि मनग्ये आम्दानी गरेका छन्, हेटौंडा–१२ कल्याणटारका रामप्रसाद पौडेलले ।

भूकम्पले लडेको छाप्रोले ओगटेको १० धुर जमिनबाहेक जग्गा नभएका उनले तरकारी खेतीबाट बर्सेनि ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए । ३९ वर्षीय पौडेलले भाडामा जग्गा लिएर तरकारी खेती गर्न थालेपछि हातमुख जोर्न मात्र होइन, छोराछोरी पढाउन पनि समस्या परेको छैन । भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएको चार जनाको पौडेल परिवारको सुत्ने कोठा, भान्सा र मालसामान राख्ने कोठा एउटै छ ।

बिहान उठेदेखि बेलुका अबेरसम्म पौडेल दम्पती भाडाको जग्गामा लगाएको तरकारी खेतीमा व्यस्त हुन्छन् । आफ्नो छाप्रो नजिकैको २ बिघा जमिन भाडामा लिएर उनले विगत ५ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । गत वर्ष उनले तरकारी खेतीबाटै करिब ७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका थिए । भाडामा लिएको जग्गामा उनले खुर्सानी, काउली, बन्दाकोपी, आलु, लसुन, गोलभेंडा र अदुवा लगाउने गरेका छन् । अहिले फर्सीको

झाल, बोडी र बन्दाकोपी छन् । उनले यो वर्ष २ लाख रुपैयाँभन्दा बढीको गोलभेंडा नै बिक्री गरे । अझै एक लाख रुपैयाँभन्दा बढीको उत्पादन हुने उनको अनुमान छ । ५० हजार रुपैयाँभन्दा बढीको बन्दाकोपी बिक्री गरे । आलुमात्र १ लाख रुपैयाँभन्दा बढीको बिक्री हुने उनको अनुमान छ । ४ कट्ठा जमिनमा उनले आलु खेती गरेका छन् ।

पौडेलले उत्पादन गर्ने तरकारी रासायनिक मल र विषादीरहित हुने गर्छ । साविकको कृषि विकास कार्यालय मकवानपुरले उनलाई विषादी र रासायनिक मलरहित तरकारी उत्पादन गर्न पाँच वर्षअघि तालिम दिएको थियो । तालिममा सिकेका कुरालाई उनले व्यवहारमा उतार्ने काम गरेका छन् । गाईबस्तुको मलमूत्र संकलन गरेर तरकारी खेतीमा हाल्ने गरेका छन् भने जैविक विषादी तयार पारेर प्रयोग गर्ने गरेका छन् । तीन वटा गाई पालेका छन् । त्यही गाईको प्रांगारिक मल हालेर तरकारी उत्पादन गर्ने गरेका छन् ।

हेटौंडा सिमेन्ट उद्योग लामुसुरेबाट करिब २ घण्टा पैदल हिँडेर पुगिने कल्याणटारमा उनीमात्र एक कृषक हुन् जो विषादीरहित तरकारी उत्पादन गर्छन् । उनले उत्पादन गरेको तरकारी खरिद गर्न व्यापारी घरसम्मै पुग्छन् । साविकको कृषि विकास कार्यालय मकवानपुरले विगतका वर्षमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको ४० हजार रुपैयाँ अनुदान पौडेललाई उपलब्ध गराएको थियो । ‘जग्गा नभए पनि दुःख गर्‍यो भने कमाइ हुँदो रहेछ’, कृषक पौडेलले भने, ‘विगतमा हातमुख जोर्ने नै चिन्ता थियो, अहिले छैन ।’ उनले छोराछोरीलाई हेटौंडा–११ स्थित नवलपुरस्थित स्कुलमा पढाएका छन् । ‘पौडेल दम्पती दिनभर तरकारी खेतीमा खटिरहन्छन् । भाडामा जग्गा लिएर पनि राम्रो आम्दानी गरेका छन्,’ हेटौंडा उपमहानगरको कृषि शाखा प्रमुख रवीन्द्र पौडेलले भने, ‘मेहनती र जाँगरिला कृषकलाई आम्दानी गर्न आफ्नै जग्गा चाहिन्छ भन्ने छैन ।’

पालिका प्रेस
थप जानकारी