रौतहटको ईशनाथ नगरपालिकामा कार्यरत नायब सुब्बाले किर्ते दस्तावेज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको सो नगरपालिकाका मेयर सन्तोष मेहताले बताएका छन् ।
ईशनाथ नगरपालिकाको शिक्षा संयोजक नायब सुब्बा नन्द किशोर गुप्ताले प्रमुख प्रशासकीय अधिकृत बन्न उपप्रमुख हुसने आरा र वडा अध्यक्ष इद मोहम्मदको नक्कली हस्ताक्षरसहित कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा पेस गरेपछि गुप्तालाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको मेहताको भनाइ छ ।
नगर प्रमुख मेहता आफ्नो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरबदल भएकोबारे बुझ्न भन्दै मन्त्रालयमै पुगेका हुन् । यस क्रममा आफूले गुप्ताले पठाएका किर्ते दस्तावेज मन्त्रालयमा फेला परेको र सोही दस्तावेजका आधारमा मन्त्रालयले उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पाइएको बताए ।
केही अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ईशनाथमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको सरुवा गरेर गुप्तालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
मेयर सन्तोष मेहताले प्रमुख प्रशासकीय अधिकृत भुजेलको सरुवापछि आफूहरू मन्त्रालयमा आएर कागजपत्र हेर्दा सबै किर्ते गरेको पाइएको बताए । उनले किर्ते गरेको विषयमा आफूहरु गुप्ताविरुद्ध कानुनी प्रक्रियामा जाने बताए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले भने प्रमुख प्रशासकीय अधिकृत भुजेलको सरुवापछि वरिष्ठताको आधारमा आफूलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको बताउँदै आफूले कुनै पनि किर्ते काम नगरेको दाबी गरे ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्