मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कार्यालय आफ्नै भवनमा सारिएको छ । यसअघि भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालय १० भाद्रमा एक कार्यक्रमका बीच हेटौंडा–१९, बस्तीपुर बजारमा निर्माण सम्पन्न नयाँ भवनमा सारिएको हो । यसअघि जनहीत सामुदायिक वन उपभोक्ता समूहले प्रयोग गर्दै आएको भवनको स्वामित्व लिएर दोस्रो तल्ला निर्माण गरी वडा कार्यालय सारिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले १० भाद्रमा नयाँ भवनमा वडा कार्यालयको उद्घाटन गरिन् । वडा कार्यालयको उद्घाटन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामाले जनप्रतिनिधि र कर्मचारी दुबैले मुस्कानसहित जनताको सेवामा समर्पित हुनुपर्ने बताइन् । वडामा जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, सरसफाई, पूर्वाधारलगायत विषयगत क्षेत्रमा कार्यविभाजन गरेर काम गर्न पनि आग्रह गरिन् । वडा अध्यक्ष नरनाथ सुवेदीले सेवा प्रवाहलाई सहज र सरल बनाउन सक्दो प्रयास गरिरहेको जानकारी दिइन् । वडामा मिनी रंगशाला निर्माण गर्ने आफ्नो योजना रहेको पनि वडा अध्यक्ष सुवेदीले बताइन् । जनहीत सामुदायिक वन उपभोक्ता समूहका लागि रैदहमा २५ लाख लागतमा भवन निर्माण गरिदिएर वन समूहको भवनको स्वामित्व वडा कार्यालयले ग्रहण गरेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

दुई तल्लाको भवनमा वडा कार्यालयका साथै स्वास्थ्य क्लिनिक, मेलमिलाप केन्द्र, कृषि शाखा पनि सञ्चालनमा आउने जानकारी गराउनुहुँदै वडा अध्यक्ष सुवेदीले भने, ‘हामी वडाकै भवनमा छिट्टै पुस्तकालय पनि सञ्चालनमा ल्याउँछौं । वडावासीलाई अध्ययन, मनन् र विश्लेषण गर्ने क्षमता विकास गर्नेछौं ।’ यसअघि निर्मल माविको व्यावसायिक भवनमा मासिक १४ हजार ८ सय ५० रुपैयाँ भाडा तिरेर वडा कार्यालय सञ्चालन गरिएको थियो । नयाँ भवनमा वडा कार्यालय उद्घाटन गर्ने कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, लेखा अधिकृत जेकव श्रेष्ठ, वडा सचिव राजेन्द्र पोखरेलको पनि उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी