उमा सिंजालीले बालीको पनि मान्छेको जस्तै उपचार हुन्छ भन्ने पहिलोपटक सुनिन् । वडा कार्यालयबाट खेतबारीमा लगाएका बालीमा रोग लागेको भए उपचार शिविर बस्दै छ भन्ने सुनेपछि तानसेन नगरपालिका–७ की सिंजाली पनि सहभागी भइन् । उनी रोग लागेका सिमी, काउली र गोलभेंडा लिएर शिविरमा पुगेकी थिइन् ।

‘मान्छेको स्वास्थ्य शिविर सुनेकी थिएँ तर बालीको पनि उपचार शिविर हुन्छ भन्ने बल्ल थाहा पाएँ,’ उनले भनिन्, ‘विषादी कम हाल्नुपर्ने र जैविक विषादी प्रयोग गर्नुपर्ने पनि शिविरमा पुगेर थाहा पाएकी छु ।’ तानसेन–६ की पम्फा गोतामे पनि काउलीमा फेद कुहिएर मर्ने समस्या लिएर शिविरमा पुगेकी थिइन् । उनलाई बालीविज्ञ थमनबहादुर कार्कीले जरामा रोग किरा लागेको उपचार विधि सुनाए । विषादी प्रयोग गर्दा पनि घातक भन्दा कम क्षति गर्ने खालको प्रयोग गर्न गोतामेले सिकेको बताइन् ।

‘सहज ढंगले बालीको उपचार विधि सिक्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘यस्तो शिविर बेलाबेलामा राख्नुपर्छ ।’ तानसेन–१०, अर्गलीका गोपाल गैरे आलुमा लागेको रोगको निदान गर्न शिविर पुगेका थिए । शिविरबाट सही उपचार विधि सिकेको उनले बताए । कतिपय किसानको खेतबारीमै पुगेर पनि रोग लागेको विषयमा जानकारी गराइएको उनले जनाए ।

अर्गली, तानसेनका बर्तुङ, प्रभास, बन्दीपोखरालगायतका स्थानमा किसानको खेतबारीमा पुगेर बालीको उपचार गरिएको छ । विषादी व्यवस्थापनसँगै स्वस्थ बिरुवाबारे किसानलाई जानकारी गराउन बाली उपचार शिविर राखिएको तानसेन नगरपालिकाले जनाएको छ ।

किसानले अनौठो मान्दै करेसाबारी, व्यावसायिक उत्पादन र टनेलबाट बोटबिरुवा ल्याएको तानसेनमा कोभिड–१९, प्रतिकार्य तथा सामाजिक आर्थिक पुनः प्राप्तिका लागि अग्रसरता परियोजना संयोजक तथा कृषिविज्ञ शोभना जीसीले बताइन् । जिल्लामै पहिलोपटक आयोजना गरेको शिविरबाट १ सय ५० किसानले फाइदा लिए । ‘मान्छेको स्वास्थ्य जाँच गरेजस्तै हामीले उत्पादन गरेको बाली, बोट, बिरुवाको पनि शिविर गरेको अनौठो लाग्यो,’ तानसेन–१४, अर्गलीकी सावित्रा गैरेले भनिन्, ‘सुरुमा त बालीको पनि शिविर भन्दा अचम्म लाग्यो ।’ उनले बिरुवाको त उपचार भयो, विषादी प्रयोगबाट मानव स्वस्थ रहन सकिने धेरै उपाय पनि थाहा पाएको बताइन् ।

केही साताको तालिमका भरमा एग्रोभेट सञ्चालनमा छन् । किसानले जानकारी गराएको भरमा पसलेका परिवार, कामदारले विषादी दिने चलन छ । अनुमानका भरमा दिएको औषधिले निको नहुने समस्या तानसेन–७ का जीवबहादुर पराजुलीले सुनाए । किसानहरू विषादी बढी राखे राम्रो होला भन्ने चलन छ । प्रयोग गर्दा सावधानीबारे नजानेर आफ्नै स्वास्थ्यमा असर पुर्‍याएको थाहा नपाउने समस्या रहेको बालीविज्ञ कार्कीले बताए । बिरुवा हेरेर दक्ष प्राविधिकले औषधि दिने र सुरक्षित प्रयोग सिकाएर विषादी असर न्यून गर्न शिविर फलदायी भएको उनले बताए ।

गोलभेंडामा देखिने समस्या बढी छ । टुटा एप्सुलेटा (गोलभेंडामा लाग्ने पुतली) बढी देखिएको छ । तोरीमा लाइकिराको समस्या बढी देखिएको छ । काउली बन्दामा ब्याक्टेरिन रट बढी देखिएको बालीविज्ञ कार्कीले बताए । लिचीमा लाग्ने सुलसुले बढी देखिएको छ । सिजनमा हुने सबै रोग लागेको भेटिएको छ । बोटबिरुवाको अवस्था बताएको भरमा विषादी लगेर प्रयोग गर्ने चलन हटाउन यसले सहयोग पुग्ने तानसेन नगर –प्रमुख अशोककुमार शाहीले बताए । प्राविधिकको सल्लाहमा मात्र विषादी प्रयोगमा जोड दिन शिविरले फाइदा पुग्ने उनले बताए । ‘कृषिको क्षेत्रमा काम गर्दै आएकाहरूलाई बालीविज्ञको सहयोगमा उपचार शिविरले धेरै फाइदा पुगेको छ,,’ तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले भने, ‘अन्य स्वास्थ्य शिविरका विषयमा जानकार भए पनि बालीको नौलो मानेको छु ।’

बिरामी बोटबिरुवा ल्याएर दर्ता गर्ने, पालैपालो जँचाउन जाने, लक्षण भन्ने, प्लान्ट डाक्टरले प्रेस्क्रिप्सन लेखिदिने गरेका थिए । तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठकले भनिन्, ‘यस्तो खालको कार्यक्रमले किसान प्रत्यक्ष लाभान्वित हुन्छन् । शिविरमा आएर विषादी राख्ने तरिका पनि सिक्ने अवसर मिलेको छ ।’ आफू जोगिएर विषादीबाट बिरुवाको उपचार गर्न जान्ने अवसर पाइने उनले बताइन् । अधिकांश बालीमा किरा लाग्ने, लाई लाग्ने, जरा कुहिने, बोट मर्नेजस्ता समस्या आएको भेटिएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

पालिका प्रेस
थप जानकारी