मकवानपुर थाहानगरमा सञ्चालन भइरहेको पालुङ वृहत्त खानेपानी आयोजनाको कार्यसम्पादन तथा प्रगतीको विषयमा नगरपालिका कार्यालयमा समिक्षा भएको छ । दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी चालु आर्थिक वर्षबाट शुरु भएको खानेपानी आयोजनाको करिब ३५ प्रतिशत काम सम्पन्न भएको २५ माघमा भएको समिक्षा कार्यक्रममा प्रस्तुतीकरण भएको छ ।

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ का बासिन्दालाई लक्षित गरी निर्माण थालिएको खानेपानी आयोजनाको समिक्षा भएको हो । कार्यक्रममा आयोजनाको प्रगतीको विषयमा निर्माण कम्पनीका दिल बहादुर केसीले जानकारी गराएका थिए । निर्माण व्यवसायी केसीका अनुसार १ सय २३ किलोमीटर पाइपलाईन विस्तार गर्ने सम्झौता भएकोमा ३५ किलोमिटर, ५० हजार लिटर क्षमताको १२ वटा रिजभ्र्वायर ट्याङ्कीको निर्माण सक्किसकेको तथा ३ वटा ट्रिटमेन्ट प्लान्टको निर्माण अन्तिम चरणमा पुगेको छ । दुईवर्ष भित्र निर्माण सक्ने आयोजनाको लक्ष्य रहेकोमा ठेक्का सम्झौता बमोजिम आयोजना निर्माणमा स्थानीय उपभोक्ता बाट २० प्रतिशत साझेदारी गर्नुपर्ने छ ।

  समिक्षा तथा छलफल कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले आफ्नो वडामा हाल कार्यान्वयनमा रहेको आयोजना बाट कतिपय घर तथा टोलहरु छुटेको रिपोर्टिङ गरेका थिए । छलफलका क्रममा सहभागी वडा नंम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली, वडा नंम्बर २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नंम्बर ३ का वडा सदस्य कृष्णकुमार कार्की र वडा नंम्बर ४ का वडा अध्यक्ष नारायण लामासहित सम्बन्धित वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले आ–आफ्नो वडामा हाल कार्यान्वयनमा रहेको खानेपानी आयोजनाबाट कतिपय घर तथा टोलहरु छुटेको रिपोर्टिङ गरेका थिए । यससम्बन्धमा छलफल हुँदा आयोजनाबाट छुटेका घर तथा टोलहरुको सम्बन्धमा वडास्तरीय खानेपानी उपभोक्ता समितिले विवरण संकलन गरीे ७ दिनभित्र पालुङ वृहत खानेपानी आयोजना उपभोक्ता समिति समक्ष पेश गर्ने र उक्त समितिले आवश्यक जाँचबुझ गरी ३ दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा लिखितरुपमा विवरण पेश गर्ने निर्णय भएको छ । उक्त विवरणको आधारमा समस्या समाधानार्थ आवश्यक सहयोगका लागि नगरपालिकाबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासमक्ष अनुरोध गर्नेसमेत निर्णय भएको नगर प्रमुख विष्णु बहादुर विष्टका प्रेस संयोजक शम्भु अधिकारीले जानकारी दिए ।

अन्तर्गत् हाल कार्यान्वयनमा रहेको खानेपानी आयोजनाअन्तर्गत् कतिपय स्थानमा रिर्जभ्वाएर ट्याङ्कीभन्दा वस्ती माथि परेको, पाइपलाइनका नजिकका केही घरहरु छुटेको जस्ता समस्या भएको बारे भएको रिपोर्टिङको आधारमा छलफल हुँदा वडा स्तरका उपभोक्ता समिति, आयोजनाका प्राविधिक र निर्माण व्यवसायीबीच समन्वय गरी ठेक्का सम्झौतामा बाधा नपर्नेगरी नक्शा पुनरावलोकन गर्ने पनि निर्णय भएको छ । ठेक्का सम्झौताबमोजिम आयोजना निर्माणमा स्थानीय उपभोक्ताबाट २० प्रतिशत साझेदारी गर्नुपर्ने व्यवस्था भएकोमा निर्माण व्यवसायीबाट सम्पन्न हुँदै गएको कार्यसँगै उपभोक्ताबाट श्रमदान गराउन उपभोक्ता समितिबाट आवश्यक पहल गर्ने समेत निर्णय भएको छ । आयोजनामा उपभोक्ताले मुख्य पाइपलाईबाट आफ्नो घरसम्म पाइपलाइन खन्ने तथा पुर्नेलगायतको श्रमदानमा साँझेदार हुनुपर्ने छ ।

कार्यक्रममा थाहा नगरपालिकाको वडा नम्बर २ मा साविक पालुङ गाविसको ६ वटा वडालाई समेटर पालुङ खानेपानी आयोजना सञ्चालन हुँदै आएकोमा उक्त आयोजना र यस आयोजनालाई एक अर्कामा सम्बन्धित गराएर खानेपानी व्यवस्थापनमा सहजीकरण गर्ने व्यवस्थाको लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई अनुरोध गर्ने निर्णय भएको थाहानगर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष लवशेर विष्टले जानकारी दिए ।

थाहानगरको चार वटा वडालाई लक्षित गरी निर्माण थालिएको योजनालाई सबैपक्षको अपनत्वमा निर्माण गर्न आग्रह गर्दै आयोजनाकालागि सक्दो सहयोग गर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाकी सि.डि.इ मनिना वैद्येले बताइन् । थाहा नगरपालिकामा खानेपानी आयोजनाको निर्माण कम्पनी, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख, थाहा नगरपालिका, नगर खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी उपभोक्ता समिती, आयोजनाको लाभग्राही रहेका वडाका अध्यक्ष तथा जनप्रतिनिधि र स्थानीयबीच छलफल भएको हो ।

आयोजनाबाट छुट हुन पुगेका गाउँटोलमा खानेपानी विस्तारका लागि तत्काल तथ्याङ्क संकलन गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नगरपालिका र निर्माण व्यवसायीबीच छलफलले निर्णयमा पुग्न सहज भएको नगर प्रमुख विष्णु बहादुर विष्टले बताए । ‘अब छिट्टै तथ्याङ्क संकलन गरी बैठक बस्छौं, सबै नगरबासीलाई शुद्ध र गुणस्तरीय खानेपानीको व्यवस्था गरेरै छाड्छौं’ प्रमुख विष्टले भने। विष्टले साविक पालुङ गाविसको साविकका ६ वटा वडाहरुको लागि निर्माणाधिन पालुङ खानेपानी आयोजनालाई पनि यसै आयोजनामा समेटेर लैजान संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई अनुरोध गर्ने बताए ।

थाहा नगरपालिकाका प्रमुख विष्टको अध्यक्षतामा सम्पन्न बृहत छलफल कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपाली, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख मनिना वैद्ये, इन्जिनियर सरोज केसी, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष लवशेर विष्ट, खानेपानी उपभोक्ता समितीका अध्यक्ष राजकुमार केसी, वडा अध्यक्षहरु हेरमान गोपाली, बम बहादुर सिन्तान, नारायण लामा, वडास्तरीय खानेपानी उपभोक्ता समितिका अध्यक्षहरुलगायत स्थानीय लाभग्राहीहरुको सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी