इच्छाकामना गाउँपालिकाको कोयलघारीमा हुर्केकी सुशीला गुरूङ ३ वर्षअघि विवाह गरेर भरतपुर महानगरपालिकाको चौकीडाँडा पुगेकी थिइन्। महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने चौकीडाँडालाई सहरनजिकै रहेको पर्यटकीय गाउँ भनेर चिनिन्छ।

विवाह गरेर यहाँ आउँन लाग्दा उनले दुःख कम हुने ठानेकी थिइन्। तर उनले सोचेजस्तो पाइनन् चौकीडाँडा।

‘विवाहको भोलिपल्ट बिहान पानी बोक्न आधा घण्टा पर पुग्नुपयो। डोकोमा २५ लिटरको जर्किनभरी पानी बोकेर ल्याउनुपर्दा कस्तो ठाउँमा आइपुगेछु झैं लाग्यो। पाउनसम्म दुःख पाइयो,’ उनले भनिन्।

परिवारले दिनभर पिउने पानीका लागिमात्रै होइन गाईबस्तुलाई खुवाउने पानी लिन पनि चौकिडाँडाबासी परको गुण्डा खोला पुग्नुपर्थ्यो। पानीको स्रोत नहुँदा सामान्य खेती गर्न आकाशे पानीको भर हुन्थ्यो। गाउँभन्दा उचाईमा पानीको स्थायी मुहान नहुँदा तल्लो तहबाट बहेको खोलाको पानीले काकाकुल गाउँको आँत भरेको थियो।

केही दिनदेखि यो गाउँमा नयाँ खुसी छाएको छ। पानीका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका यहाँका बासिन्दाको अब आँगनकै धारोमा पानी आउन थालेको छ।

चौकीडाँडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएसँगै अब लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरूबोटे, सती डाँडाका ३ सय ५० परिवार लाभान्वित हुनेछन्।

आयोजनाको उपभोक्ता समितिका सचिव केशव ढकालले पाइपलाइनमार्फत घर–घरमा पानी पुग्दा चौकीडाँडाबासीलाई नयाँ युगको सुरूआत भएझैं अनुभुती भएको बताए।

‘हुन त पिउने पानी मान्छेको पहिलो आवश्यकता हो तर सहरको नजिकैको पर्यटकीय गाउँ भएपनि हामी पानीको असाध्यै दुःखमा थियौं,’ ढकालले भने, ‘आँगनकै धारोमा पानी झर्न थालेपछि त खुसीको सीमा छैन।’

३५ वर्षीय ढकालले बुझ्न थालेदेखि पानीको माग गरेर सरकारी अड्डाहरू धाउन थालेको सुनाए।

‘समस्याका फाइल बोकेर धाउँदा थाकियो तर पानीको योजना ल्याउन सकिएन। बल्छीमा माछा पारे जसरी खोलामा बोत्तल डुवाएर पानी उभाउँदै प्यास मेटाउनुको विकल्प थिएन,’ उनले भने, ‘ढिलै भएपनि आयोजना सञ्चालन सफल भयो। आँगनमै धारो आउँदा सपना झैं लागेको छ।’

संघीय र प्रदेश सरकारको ५  करोड ९५ लाख, भरतपुर महानगरको १ करोड ७५ लाख तथा उपभोक्ताको ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९  करोड ६ लाख ७५ हजार रुपैयाँ लागतमा यहाँ खानेपानी आयोजना निर्माण भएको हो।

भरतपुरकी मेयर रेनु दाहालले बुधबार बिहान धारो खोलेर खानेपानी आयोजनाको उद्घाटन गरेकी थिइन्। उनले भरतपुर–२९ को सबैभन्दा ठूलो समस्याको रूपमा रहेको खानेपानीको समस्या अब सदाका लागि अन्त्य भएको बताइन्।

 

मेयर दाहालले दोस्रा पटक चुनाव जितेपछि महानगरबासीलाई ७ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने पहिलो निर्णय गरेकी थिइन्। ‘म पहिलो पटक निर्वाचित भएर आउँदा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गर्नुभएको थियो। त्यसपछि हामीले खानेपानीलाई प्राथामिकतामा राखेर काम गर्‍यौं,’ उनले भनिन्, ‘अब यो आयोजनालाई भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरेर यहाँका बासिन्दालाई नि:शुल्क सुविधा उपलब्ध गराउँदैछौं।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका इन्जिनियर हरिराम पौडेलकाअनुसार यो आयोजना आर्थिक वर्ष २०७५/०७६ बाट सुरू भएको हो। बागमती प्रदेश सरकारको एक घर, एक धारो नीतिअनुसार योजना सुरू भएको उनले बताए।

यो आयोजनाअन्तर्गत मुहान, ८० लाख लिटरको कलेक्सन ट्याङकी र एक लाख लिटरको पानी पोखरी छ। थामडाँडा भन्ने ठाउँमा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ। यहाँबाट करिब २५ किलोमिटर पाइपलाइन जडान गरेर पानी वितरण गरिने उनले बताए। तल्लो तहमा रहेको मुहानको पानीलाई दुई पटक पम्पले तानेर गाउँमा पुर्‍याइएको उनले बताए।

महानगरले यसअघि भरतपुर–२९ कै ढोडेनीमा ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा ल्याएको थियो। यहाँ पनि तल्लो तहमा रहेको मुहानको पानीलाई लिफ्ट गरेर गाउँमा ल्याएर पानी वितरण गरिएको हो।

‘पानीको समस्या हटेसँगै अब हाम्रो दैनिक घण्टौंको समय बचत भएको छ। यो समयमा अन्य काम गर्ने, छोराछोरीलाई पढाउने गर्न पाइन्छ,’ कमलपुरकी धनमाया सुनारले भनिन्।

भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले पानीको सुविधा पुगेसँगै गाउँमा पर्यटनको गतिविधि बढ्ने बताए।

चौकीडाँडालाई भरतपुर महानगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्य मान्ने गरेको छ। यहाँबाट आगामि वैशाखदेखि प्याराग्लाइडिङ पनि सुरू हुँदैछ।

पालिका प्रेस
थप जानकारी