संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएको ठाउँमा नजाने, आफूखुसी बस्ने कर्मचारीहरुलाई कडाइ गर्ने भएको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएको साता दिन भित्र रमाना लिई नगए निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजाय हुने उल्लेख गरेको छ ।

संघीय मामिला मन्त्रालयले सरुवा, पदस्थापन, कामकाज वा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिएपश्चात् साविकका निकाय, कार्यालयबाट उनीहरुको विदा स्वीकृत नगर्ने वा नगराउ निर्देशन समेत दिएको छ । रमाना नलिएमा निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजायको प्रक्रिया सुरु गरी सोको जानकारी यस मन्त्रालयलाई गराउन परिपत्र गरेको हो । कामकाजका लागि खटिएको म्याद गुज्रेका कर्मचारीहरु मकवानपुरका केही स्थानीय तहमा अटेर गरी बसिरहेको बताइन्छ ।

निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नको लागि लेखा परीक्षण गर्ने निकायलाई अनुरोध सहित पत्राचार गर्ने समेत जनाएको छ ।