
आर्थिक वर्ष २०८२-०८३ को बजेट तर्जुमा प्रक्रिया अघि बढाउने उद्देश्यले अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा गठन गरिएको समितिमा विभिन्न महाशाखा प्रमुख तथा सम्बन्धित निकायका पदाधिकारी सदस्य रहेका छन्।
समितिको सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेका छन्।
बजेट लेखन समितिका जिम्मेवारी
बजेट लेखन समितिले बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण गर्ने, मन्त्रालयगत आयोजनाहरूको प्राथमिकता तय गर्न सहजीकरण गर्ने, बजेट वक्तव्यको मस्यौदा तयार गर्ने तथा नीति तथा कार्यक्रममा आवश्यक सुझाव पेस गर्ने जिम्मेवारी पाएको संयोजक नेपालले जानकारी दिए।
बजेट सीमांकन र वित्तीय व्यवस्थापन
यसैबीच, अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयअनुसार प्राप्त बजेट सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा निर्धारण गरेको छ। प्रदेश तथा स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा समेत तय गरिएको छ।
आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनअनुसार फागुन १५ भित्रै आगामी आर्थिक वर्षको बजेट सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था गरिएको छ।
अनुदान तथा मुख्य आयोजनाका लागि बजेट निर्धारण
अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराइसकेको छ। त्यस्तै, समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोगलाई, जबकि सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरूलाई प्रदान गरिएको छ।
राष्ट्रिय गौरवका आयोजनाहरू तथा अन्य महत्त्वपूर्ण परियोजनाहरूका लागि बजेट निश्चित गरी ‘एयरमार्क’ गरिएको छ।
गुणस्तरीय आयोजनामा प्राथमिकता
बजेट मार्गदर्शनअनुसार निर्धारण गरिएका बजेट सीमाभित्र रही मन्त्रालयहरूले गुणस्तरीय आयोजना तथा क्रियाकलापका लागि बजेट प्रस्ताव पेश गर्नुपर्नेछ। नयाँ आयोजना प्रस्ताव गर्दा त्यसका दीर्घकालीन प्रभाव तथा आर्थिक सम्भाव्यता अध्ययन अनिवार्य गरिनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्