
सरकारले वरिष्ठ सहसचिव एवं मधेस प्रदेश सरकारका प्रदेश प्रमुख सचिव मदन भुजेललाई सचिवमा बढुवा गरेको छ । २१ फागुनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कायम मुकायम प्रमुख सचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि भुजेलसहित चन्द्रकला पौडेल र वीरेन्द्र कुमार यादवको नाम सिफारिस गरेको थियो ।
मकवानपुर हेटौंडाको हटियामा जन्मेका भुजेल हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ चिसापानीमा बन्दै आएका छन् । हेटौंडामा उनको भाइ र परिवार बस्दै आएका छन् । भुजेल प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिवमा सेवारत थिए ।
वि.सं. २०४४ सालमा प्रा.वि. शिक्षक, २०४९ मा निजामती सेवाको रा.प.अनंकित प्रथम (लेखापरीक्षण), २०५३ मा रा.प.तृतीय (लेखा), २०६१ मा रा.प.द्वितिय (प्रशासन), २०७०मा रा.प. प्रथम (प्रशासन) हुँदै भुजेल सेवाको उच्च पदमा पुगेका हुन् । बढुवा भएका भुजेलले भने–‘मलाई बधाई तथा शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुकज्यूहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा यहाँहरुको न्यानो साथ, सहयोग र हौसलाबाट सबै किसिमका चुनौतिहरुको सामना गर्दै राष्ट्र सेवामा थप सक्रिय रहन सकुँ । धन्यवाद ।’
यसअघि मकवानपुरको थाहा नगरपालिकाका रघुराम विष्ट सचिवमा बढुवा भएका थिए । विष्ट गण्डकी प्रदेशको प्रमुख सचिबका रुपमा कार्यरत छन् । भुजेल मधेश प्रदेशको कायममुकायम सचिबका रुपमा कार्यरत छन् । मकवानपुर जिल्लाको इतिहाँसमा भुजेल र विष्ट मात्र हालसम्म निजामती सेवाको सचिव पदमा पुग्न सफल व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्