
मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले जलविद्युत रोयल्टी वितरणमा असमानता भएको धारणा राखेका छन् । नगर प्रमुख विष्टले स्रोत संरक्षण गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर रोयल्टी वितरण गर्नुपर्ने प्रतिक्रिया दिएका हुन् । ४ जेठमा संघीय जलाधार व्यवस्थापन श्रोत केन्द्र कुलेखानीले थाहा नगरपालिकाको कार्यालयमा आयोजना गरेको कुलेखानी सुरक्षित जलाधार क्षेत्रको घोषणाको लागि पूर्व तयारी छलफल कार्यक्रममा प्रमुख बिष्टले यस्तो बताएका हुन् ।
प्रमुख बिष्टले कुलेखानी जलाशयको संरक्षणमा स्थानीय समुदाय र नगरपालिकाको दीर्घकालीन योगदान रहेको बताउँदै जलाधार क्षेत्र जोगाउन गरेका प्रयासहरूका कारण कुलेखानी जलाशयको आयु बढ्ने भएकोले जलाधार क्षेत्र अर्थात मुहान क्षेत्रमा रोयल्टी बाँडफाँडमा सरकारले प्राथमिकता दिन नसकेको प्रति ध्यानाकर्षण गराए । उनले भने–‘संरक्षणलाई प्रोत्साहन गर्न स्थानीय सरकारलाई समावेशी र न्यायोचित लाभ वितरण प्रणाली आवश्यक छ ।’ जलाधार संरक्षित क्षेत्र घोषणा पश्चात्का बाध्यकारी अवस्थाहरुतर्फ इङ्कित गर्दे कमजोर आन्तरिक स्रोत भएको पालिकाको विकास र कार्यक्रममा रोयल्टीको योगदान महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा भु–संरक्षण बिभागका वरिष्ठ अधिकृत हरीबंश आचार्यले कुलेखानी क्षेत्रलाई सुरक्षित जलाधार क्षेत्रको रूपमा घोषणा गर्न आवश्यक नीति, संरचना, समुदायको भूमिका र सम्भावित प्रभावबारे सहजीकरण गरेका थिए । आचार्यले स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच समन्वयमार्फत दीर्घकालीन संरक्षण रणनीति निर्माण र स्रोत साधनको न्यायोचित बाँडफाँटमा ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै सामूहिक पहलमार्फत जलाधार क्षेत्रको संरक्षणमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, भू–संरक्षण बिभागका भु संरक्षण अधिकृत बिजय पुरी, शान्त कुमार शाही, कुलेखानी जलाधारका निमित्त भु संरक्षण अधिकृत बिष्णु कुमारी अधिकारी, संघिय जलाधार व्यवस्थापन श्रोत केन्द्र कुलेखानीका भु संरक्षण सहायक निश्चल अधिकारी लगायतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्