मकवानपुरगढी गाउँपालिका–१ स्थित बुदुनेखोलामा ब्रेलिब्रिजको निर्माण कार्य सकिएकोे छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा योवर्ष मात्रै बेलिब्रिज जडानकार्य सम्पन्न भएको हो ।

बेलिब्रिज निर्माणसँगै हेटौंडा उपमहानगर पालिका र बकैया गाउँपालिका बासिन्दालाई आवागमनमा सहज भएको छ । मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीनवर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायत काम सम्पन्न भएकोमा अहिले बेलिब्रिज जडानकार्य सम्पन्न गरी सञ्चालन ल्याइएको जानकारी दिएका छन् । उनले ३५ लाख रुपैयाँको लागतमा पुल निर्माण गर्न जग, पिल्लरलगायत काम भएकोमा गत आर्थिक वर्ष २०८१÷८२ मा मकवानपुरगढी गाउँपालिकाबाट विनियोजित २० लाख रुपैयाँको लागतमा बेलिब्रिज ल्याउने, जडान, रङरोगनलगायत कार्य पूरा भएको बताए । यातायात पूर्वाधार निर्देशनालय, हेटौंडामार्फत बेलिब्रिज उपलब्ध भएकोमा बेलिब्रिजका लागि नपुग फलाम खरिदसँगै रङरोगन, जडान, पहुँचमार्ग निर्माणलगायत कार्य गरी बेलिब्रिज सञ्चालनमा ल्याइएको उनले बताए ।

बेलिब्रिज निर्माणपछि मकवानपुरगढी गाउँपालिका–१ का बासिन्दासँगै बकैया गाउँपालिका–४ र ११ का बासिन्दालाई आवतजावत तथा हेटौंडा उपमहानगरपालिका–१८ का बासिन्दालाई घाँसदाउरा गर्न साझाकुरा संवाददाता सहज भएको छ । पुलको अभावमा विद्यार्थीलाई शैक्षिक संस्था पुग्न र स्थानीयलाई गाउँघरमा उत्पादित कृषिजन्य वस्तु बजार पु¥याउन समस्या हुँदा बर्खाको समयमा ज्यान जोखिममा राखेर आवागमन गर्नुपर्ने बाध्यता रहेको थियो ।

जम्मा १४ मेट्रिकटन मात्र भारवहन क्षमता रहेको बेलिब्रिजबाट मकवानपुरगढीसँगै आसपासका पाँच हजारभन्दा बढी नागरिक लाभान्वित हुने भएका छन् । “बेलिब्रिज निर्माणपछि वर्षायाममा आवागमनका लागि सहज भएको छ,” वडाध्यक्ष लोले भने, ‘बेलिब्रिजको पहुँचमार्ग सुधार, बेलिब्रिज र सडकको सुरक्षाका लागि मेसिनरी वाल, तारजाली लगायत कार्य गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।’

पालिका प्रेस
थप जानकारी